Sponser

CoinBulb

Sunday, 21 January 2018

तपाईंसँगै जाने चाहिँ को हो ? - दानियल भट्ट

धेरै वर्ष अगाडिको कुरा हो कुनै एउटा मानिसको चारवटी श्रीमतीहरु थिए । उसले सबैभन्दा बढी आफ्नी कान्छी श्रीमतीलाई माया गर्थ्याे । उसकी साहिली श्रीमती चाहिँ एकदमै राम्री थिए तर पनि बढी माया चाहिँ उसले कान्छीलाई नै गर्थ्याे । उसकी माहिली श्रीमती साह्रै नै प्रेमिलो थिई । तर सबैभन्दा पहिले बिहे गरेको उसकी जेठी श्रीमतीलाई भने उसले कुनै वास्ता गरेको थिएन । उमेर बित्दै जाँदा एकदिन त्यो मानिसको मर्नेबेला आयो । तर ऊ एक्लै मर्न चाहँदैनथ्यो । त्यसैले उसले आफूले धेरै माया गरेकी कान्छी श्रीमतीलाई भन्यो, “हे मेरी प्यारी श्रीमती हेर मैले मेरो जीवनमा सबैभन्दा बढी तिमीलाई माया गरेको छु, अब मेरो मर्नेबेला आयो के तिमी मसँगै जान चाहन्छ्यौ ?” कान्छी श्रीमतीले भनी, “नाइँ म तपाईंसँग जान सक्दिन ” उसले फेरि सबैभन्दा राम्री श्रीमती साहिलीलाई सोध्यो, “म अब मर्न गइरहेको छु के तिमी मसँग जान चाहन्छ्यौ ?” साहिलीले भनी, “म त यति राम्री छु मैले अर्काे श्रीमान पनि पाईहाल्छु नि, म तपाईंसँग जान सक्दिन ।” त्यसपछि उसले आफूलाई धेरै माया गर्ने माहिली श्रीमतीलाई बोलाएर भन्यो, “म अब मर्न लागिरहेको छ, के तिमी मसँग जान्छ्यौ ?” माहिलीले पनि भनी, “तपाईं जिउँदो छँदा पो मैले तपाईंलाई प्रेम गरे तर अब म तपाईंसँग जान सक्दिन ।” अन्तमा उसको पछाडि मसिनो स्वरमा उसलाई बोलाउँदै उसकी जेठी श्रीमती आइपुगी र भनी, “म चाहिँ तपाईंसँग जान चाहन्छु ।” त्यो मानिसले उसकी जेठी श्रीमतीतिर फर्केर हेर्यो किनभने उसले आफ्नी जेठी श्रीमतीलाई यति हेँला गरेको थियो कि कहिल्यै पनि फर्केर उसको मुखमा हेरेको थिएन । उसकी जेठी श्रीमती साह्रै दुब्ली र पातली थिई, हेला गरिएकी थिई । तर पनि अन्त्यमा उसँग जानको लागि उसकी जेठी श्रीमती मात्रै तयार भई प्रिय मित्र तपाईंको कान्छी श्रीमती भनेको तपाईंको शरीर हो जसलाई तपाईं धेरै माया गर्नुहुन्छ, तपाईंको साहिली श्रीमती चाहिँ धनसम्पत्ति हो, जुन साह्रै सुन्दर देखिन्छ । तपाईंको माहिली श्रीमती चाहिँ तपाईंका आफन्तहरु हुन् जसले तपार्इंलाई खुबै माया देखाउँछन् । तपाईंको जेठी श्रीमती चाहिँ तपाईंको आत्मा हो । तपाईं मर्नेबेलामा तपाईंको शरीरले तपाईंलाई छाड्छ, धनसम्पत्तिले तपाईंलाई साथ दिँदैन ।
 आफन्तहरु माया गरिटोपल्छन्, अझ कति जना त आफन्तकै कारण, आफ्नै श्रीमान वा श्रीमतीको कारण वा बाबुआमाको कारण आत्माको वास्ता गर्दैनन् । तर मर्ने बेलामा वा तपाईं मरेपछि तपाईंसँग हुने केवल तपाईंको आत्मा मात्रै हो । यसकारण के तपाईंको आत्मा बाँचेको छ वा के तपाईंले आत्मा बचाउँनको लागि येशू ख्रिस्टमा विश्वास गर्नुभएको छ ? यदि तपाईंले येशूलाई विश्वास गर्नुभएको छ भने के तपाईं दैनिक रुपमा भोजन खाएझैं बाइबल पढेर प्रार्थना गर्नुहुन्छ ? आउनुहोस् मित्र आजै देखि आफ्नो आत्माको वास्ता गरौं हरेक दिन बाइबल पढ्ने वचनहरुमा ध्यान गर्ने र प्रार्थना गर्ने बानी बसालौं । “सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ अथवा मानिसले आफ्नो प्राणको सट्टा के दिन सक्छ ?” (मत्ती १६ः २६) ।

Saturday, 20 January 2018

७ मा अध्ययन गर्दै गर्दा साँगीतिक यात्रा शुरु गरें -संगीतकार गगन सुब्बा

गगन सुब्बा नेपाली इसाई सांगीतिक क्षेत्रका वरिष्ट संगीतकार हुनुहुन्छ। र्इ.सं १९७०/१०/१० मा भारत स्थित दार्जिलिङमा जन्मनुभएका गगन सुब्बा हाल काठमाडौंमा अस्थायी बसोबास गर्दै आउनुभएको छ। पाँच सय भन्दा बढी नेपाली इसाई भजनहरू र नेपाली आधुनिक गीतहरूमा सगीत दिइ सक्नुभएको छ। अलाहबाद बाट शास्त्रीय संगीतमा सिनियर डिप्लाेमा गर्नुभएका र उत्तर बङगाल गभर्मेन्ट कलेज बाट औपचारिक शिक्षा बि.ए. नेपालीमा गर्नुभएको छ। हाल विभिन्न बाेर्डिंग स्कूलहरूमा संगीत - गायन (भोकल) शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ। उहा संग नयाँ आशा डट कमका प्रतिनिधि मकल राई बान्तवाले गर्नु भएको कुराकानी।
१. संगीतकारज्यू के गर्दै हुनुहुन्छ ? 
अहिले संगीतमा - गायन शिक्षा, शास्त्रीय संगीत (भोकल) सिकाउँदै छु, साथै इसाई भजनहरू रेकर्डिङको कामले ब्यस्त छु।
२. तपाई किन संगीत क्षेत्रमा लाग्नुभयाे ?
सानै उमेरमा रेडियो नेपालबाट नारायण गोपाल, गोपाल योन्जनको गीत सुन्थे, गाउँथे त्यसपछि संगीत प्रति चासो बढ्यो अनि अहिले आएर संगीत क्षेत्रको सेवामा लागेको छु।
३. किन संगीतमा पनि इसाई संगीत मै लाग्नुभयाे ?
संगीतको माध्यमबाट जीवित परमेश्वर येशू ख्रीष्ट को महिमा हुने भएकोले मैले इसाई संगीतलाई नै रोजेको हुँ, परमेश्वरको भजन - संगीत भर्दा/बनाउँदा हृदयमा आनन्द र आत्माले शान्ति पाउने भएकोले मैले इसाई संगीत क्षेत्रलाईलाई रोजेको हुँ।
४. कसरी/कहिले सुरु गर्नुभयो अाफ्नाे सांगीतिक यात्रा ?
कक्षा ७ मा अध्ययन गर्दै गर्दा बिद्यालयको साँस्कृतिक कार्यक्रममा संगीत बिभागको निर्देशन गरेर साँगीतिक यात्रा शुरु गरेको हुँ।
५. अहिले कस्तो छ नेपाली इसाई संगीतको अवस्था ?
इसाई संगीत क्षेत्रको अवस्था पेशागत रूपमा हेर्नुपर्दा त्यति सन्तोषजनक चाहिँ छैन। नेपाली इसाई संगीत क्षेत्रको बजार ब्यवस्था राम्रो छैन। सि डि बिक्री बितरण आफैमा भर पर्नु पर्ने हुन्छ। इसाई संगीत गरेर जीवन निर्वाह गर्नु कठिन छ। इसाईहरुमा पनि भजन गीतहरू सित्तैमा सुन्ने बानी बसिसकेको छ। इसाई संगीत बजारमा पनि पाइरसी बढयो। अब परमेश्वरकाे महिमा होस भनेर चित्त बुझाउनु सिबाय केही छैन। तर म चाहिँ माथिको परमेश्वरको कुरामा भर पर्ने हुनाले निरन्तर इसाई संगीत क्षेत्रको सेवामा लागि परेको छु। इसाई संगीतमा पाश्चात्य संगीतले प्रभाव पारेको छ। इसाई संगीत क्षेत्रमा नेपालीपनको कमी कमजोरी छ पप संगीतले बढी प्रभाव पारेको छ। इसाई युवा पिडिहरू परमेश्वरको महिमा गर्नुभन्दा आफै आनन्द लुटन मात्र चाहन्छन। इसाई संगीत क्षेत्रमा मेलोडी सुगम संगीत र स्तरीय गीतहरूको महत्व घटदै जाँदैछ। भजन भनेको भक्ति संगीत हो तर अचेल भक्ति संगीतको नाममा संसारको संगीत जस्तो उश्रृङखलताले भरिएको छ। जवानहरूले यस्तै रूचाउँछन भनेर मण्डलीका पास्टर अगुवाजनहरू पनि लाचार छन यस्तै छ इसाई संगीतको अवस्था।
६. कसरी नेपाली इसाई संगीतलाई अझ सशक्त बनाएर लग्न सकिन्छ ?
इसाई संगीतलाई सशक्त बनाउनको लागि इसाई संगीतलाई संस्थागत रूपमा परिचालन गर्नुपर्छ। उत्कृष्ट प्रतिभा भएका सक्षम गायक गायिकालाई स्थान दिएर अघि बढाउनु पर्छ। स्तरीय शब्द संगीतलाई सही मूल्याङकण गर्नुपर्छ जस्तो पायो त्यस्तै हल्का फुल्का गीतहरू रेकर्ड हुने भएको कारणले नेपाली इसाई संगीतको विकास हुनसकेको छैन।
७. इसाई मण्डलीमा संगीतको भुमिका कस्तो हुन्छ ?
मण्डलीमा संगीतको महत्व धेरै छ, किनभने परमेश्वरको स्तुति आराधना गर्न संगीतको महत्वपूर्ण स्थान छ। तर सबैको मन छुने भक्ति संगीत होस जसले गर्दा परमेश्वरको उपस्थितिमा जानको निम्ति सहयता पुगोस तर स्तरीय संगीत होस हल्का फुल्का नहोस संसारिक संगीत जस्तो उश्रृङखल र हा हा हो हो उताउलोपन नहोस परमेश्वरको सेवाकाई गर्नलाई मण्डलीमा संगीतको महत्वपूर्ण भूमिका छ।
८.  संगीतको माध्यमबाट कसरी सुसमाचार सुनाउन सकिन्छ ?
मिठो कर्णप्रिय स्वर र सुमधुर संगीतको माध्यमबाट सुसमचार सुनाउँदा प्रभावकारी हुन्छ। संगीत भनेको यस्तो शक्तिशाली बिषय हो जसले कठोर भन्दा कठोर मान्छेको हृदयलाई पनि कोमल बनाउँछ। तर संगीतमा गीतमा मिठास भाव शैली मुर्छना हुनु आवश्यक छ। प्रार्थना साथ बनाएको संगीतले मान्छेको मन छुने हुन सक्छ, दुवै कुराको जरुरत पर्छ। परमेश्वरको अभिषेक र संगीतको शिक्षा दुवै मेल खायो भने भरपर्दो गीत बन्छ। अब त्यसतो गीतले चाहिँ सुसमचार प्रचारमा सहयोग पुरयाउँछ।
९. तपाइको बिचारमा किन जवानहरू मण्डली भन्दा बाहिरको गीत संगीतमा बढी अाकर्षित भएका हाेलान ?
मण्डलीका जवानहरू संसारको संगीत तर्फ जान्छन कारण  इसाई संगीतक्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने स्थान वा मौका नपाएर पनि बाहिर संसारको संगीत तर्फ जान रूचाउँछन। अर्को कुरा जवानहरूले मण्डलीमा आत्मीक खुराक नपाउँदा पनि परमेश्वरको भजन गीतलाई भन्दा संसारको गीतमा धेरै रमाउँछन। मण्डलीमा अनुशासनको पालन गर्नुपर्छ। संसारमा जे गरे पनि कसैले कही भन्दैन तर मण्डलीमा अनुशासन पालन गर्नुपर्छ। आफूले मनले चाहे जस्तो मन परी गर्न नपाउँदा पनि मण्डलीका जवानहरू संसारतर्फ जाने गर्छन। त्यसकारण अबको मण्डलीमा संगीतको वातावरण राम्रो हुनुपर्छ।
१०. संगीतकार ज्यु तपाइको बहुमुल्य समयको लागि धन्यवाद।
नयाँ आशा डट कम लाई पनि धन्यवाद मलाई अन्तर्वार्ता गर्ने मौका दिएर धेरै पाठक सम्म पुग्ने मौका दिनु भयो । जय मसिह।
साभार ः नयाँ अाशा डट कम

गजल - एन पी खतिवडा 

येशुमात्र   सन्सार मा पाप  रहित भइ जिउनु भयो
उद्दार मुक्ती दिनलाई कष्टको घुट्को पिउनु भयो
धर्मी  यहाँ  कोहि  छैन  एकै  जना  पनि  छैन
अधर्मिलाई धर्मी पार्न संकस्ट सारा सहनु भयो
हाम्रो पापको बोझ बोकि कल्भरिमा मर्नु भयो
गर्नु  पर्ने  जति सबै  हाम्रो  निम्ति  गर्नु   भयो
सत्य शुन्दर शिध्ह मानिस येशु मात्र हुनु भयो
बगाई  रगत  कल्भरिमा  हामिलाई धुनु भयो
जस्तो येशु  पबित्र छन त्यस्तै हामी बन्न सकौ
ख्रीष्टकै पबित्रताको कुरा सबैलाई भन्न सकौ ।

आफ्नै स्वास्नीलाई कुट्ने के जिन्दगी - रेशम कुमार सुनुवार

आफ्नै स्वास्नीलाई कुट्ने के जिन्दगी
जोडिएर सम्बन्ध पनि छुटने के जिन्दगी।
हरायो विश्वास मान्छे मान्छे बीचमा
विश्वासघातमा आफैलाई लुटने के जिन्दगी।
काँच जस्तै कच्चा त्यो मायाको स्वरुप
एकै स्पर्शमा अनायासै फुटने के जिन्दगी।
आउन आउ सबै त्यो क्रुसको फेदीमा
पापमा प्राणको डोरी टुटने के जिन्दगी।
ख्रीष्टको धार्मिकतमा मन शुद्ध नभएर
खराबै बिचार मनमा भुटने के जिन्दगी।

नेपालको नयाँ कानुन र यसले नेपाली ख्रीष्टियनहरूलाई पार्न सक्ने प्रभावहरू – जगदिश पाेखरेल

नेपालमा अहिले बनेको कानुनका कारणले गर्दा नेपाली ख्रीष्टियानहरू आत्तिइहाल्नुपर्ने अवस्था छैन । त्यसै पनि ख्रीष्टियान जाति सतावटदेखि डराउने जाति होइन ।शक्तिमा हुनेहरूले आफुखुसी नियम कानुन बनाउने र तिनीहरूलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने चलन हाम्रो देशको निम्ति नयाँ चलन होइन । जातको नाममा होस्, भाषाको नाममा होस् कि वर्ण वा वर्गकै नाममा किन नहोस्, ठूला भनिनेहरूले साना भनिनेहरूलाई हेप्ने कुरा हाम्रो समाजको निम्ति सामान्यजस्तै बनेको छ । यी सबै भेदभावहरूका साथसाथै यहाँ धर्मको हिसावमा अल्पसंख्यकहरूलाई अनेक लान्छना लगाउने र बहुसंख्यकको खटनमा चल्न बाध्य पार्नेजस्ता क्रियाकलाप पनि हुने गरेका छन् । धर्मको आधारमा गरिने भेदभाव पनि यो भूमीको निम्ति पुरानै कुरा भइसक्यो।

निकै लामो राजनीतिक उतारचढावपछि बनेको नेपालको संविधान २०७२ ले धर्मको मामिलामा दोहोरो अर्थ लाग्ने गरी व्यवस्था गरेको छ । नेपालको संविधान २०७२ को धारा ४ को उपधारा १ ले एकातिर नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्रको रूपमा चित्रित गरेको छ भने अर्कोतिर धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भनेर आफैमा अस्पष्ट प्रावधान अघि सारेको छ ।

संविधानको धारा ४ को उपधारा १ पढ्नुहोस्ः

४. नेपाल राज्य

(१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।
स्पष्टीकरणः यस धाराको प्रयोजनको लागि धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।

यसैगरी संविधानकै धारा २६ को उपधारा १ र २ ले सबैलाई समान धार्मिक हकअधिकार दिएको छ भने उपधारा ३ ले फेरि घुमाउरो भाषामा आस्था रोज्न पाउने व्यक्तिको व्यक्तिगत स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको छ । जबर्जस्ति वा प्रलोभनमा पारेर कसैले कसैको धर्मपरिवर्तन गराउन हुँदैन भन्ने कुरामा अरूहरू जत्तिकै हामी नेपाली ख्रीष्टियानहरू पनि सचेत, सजग र जानकार छौं । तर संविधानले धर्मपरिवर्तन गर्न पाउने व्यक्तिको स्वेच्छिक अधिकारलाई सम्बोधन नगरिकन सिधै धर्मपरिवर्तन गराउने कार्यलाई कानुनअनुसार दण्डनीय भनेर चित्रित गरेको छ ।

संविधानको धारा २६ को उपधारा १, २ र ३ पढ्नुहोस्ः

२६. धार्मिक स्वतन्त्रताको हकः

(१) धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ ।

(२) प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ । तर धार्मिक स्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा जग्गाको व्यवस्थापनका लागि कानून बनाई नियमित गर्न बाधा पुगेको मानिने छैन ।

(३) यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ ।

यसरी धर्मपरिवर्तन गराउने कार्यलाई कानुनबमोजिम दण्डनीय हुनेछ भनेर संविधानले धर्मजस्तो अति जटिल कुरालाई पनि अरू अपराधको दर्जामा राखेको छ ।
फौजदारी कसूरसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफा १५७ देखि १६१ मा धर्मसम्बन्धी कसूरहरू र तिनका दण्डहरू उल्लेख गरिएका छन् ।

विधेयकका दफाहरू पढ्नुहोस्ः

१५७. धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुनेः

(१) कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानी जानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि नोक्सानी वा क्षति पुर्याउन वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

(३) विदेशीले उपदफा (१) बमोजिमको कसूर गरेको रहेछ भने उपदफा (२) बमोजिमको कैद भुक्तान भएको सात दिनभित्र निजलाई नेपालबाट बाहिर पठाउनुपर्नेछ ।

१५८. धार्मिक भावनामा आघात पुर्याउन नहुनेः

(१) कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरू कुनै किसिमबाट कुनै जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

१५९. धार्मिक रीति–स्थितिमा बाधा पुर्याउन नहुनेः

(१) कसैले सनातनदेखि अपनाउँदै वा चलीआएको अरूको धार्मिक रीति–स्थितिमा जानीजानी बाधा पुर्याउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

१६०. धर्म परिवर्तन गराउन नहुनेः

(१) कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन हुँदैन ।

(२) कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातन देखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुनेगरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा अन्य कुनै नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन ।

(३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

(४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने व्यक्ति विदेशी रहेछ भने त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनुपर्नेछ ।

१६१. हदम्यादः

दफा १५७ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाएको मितिले छ महिना र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्नेछैन ।

कति हदसम्म यो कानुनले सबै धर्म–सम्प्रदायका मानिसहरूलाई समान हकअधिकार दिलाउने र सुरक्षाको प्रत्याभूति गराउने काम पनि गरेको छ । एकअर्काको आध्यात्मिक भावना र धार्मिकस्थलहरू माथि हमला गर्न नहुने कुरा निकै असल कुरा हो ।

धेरै हिसावबाट यस कानुनले सकारात्मक सन्देश दिएको भए पनि धर्मपरिवर्तनको सवालमा भने व्यक्तिलाई आफ्नैबारेमा निर्णय गर्नसमेत् रोक लगाउने शैलीको प्रावधान अघि सारेको छ । प्रलोभन देखाएर पनि र प्रलोभन नदेखाएर पनि धर्मप्रचार र धर्मपरिवर्तन गराउन नमिल्ने भन्ने कानुनको भाषाले प्रजातन्त्रको घाँटी न्याक्ने काम गरेको छ ।

जबर्जस्ति रुपमा वा प्रलोभनमा पारेर कसैले अरूको धर्मपरिवर्तन गराउन पाउँदैन भन्ने कुरामा कसैको पनि विमति छैन । त्यो तपाईं मात्रै हो, जसले तपाईंको व्यक्तिगत कुराहरूको निर्णय गर्ने अधिकार राख्नुहुन्छ, त्यो म मात्रै हुँ, जसले मेरो व्यक्तिगत कुराहरूको निर्णय गर्ने अधिकार राख्छु । मैले गुलियो खाने, नुनिलो खाने, शर्ट लगाउने, टि–शर्ट लगाउने, स्यामसुङ चलाउने, एप्पल चलाउने, फुटबल खेल्ने, क्रिकेट खेल्ने, नेपालमै बस्ने, विदेश जाने, कांग्रेसलाई भोट हाल्ने, एमालेलाई भोट हाल्ने, एमाओबादीलाई भोट हाल्ने, कसैलाई भोट नहाल्ने, हिन्दु बन्ने, मुस्लिम बन्ने, बहाई बन्ने, सिख बन्ने, बुद्धिष्ट बन्ने, क्रिश्चियन बन्ने भन्ने बारेमा निर्णय गर्ने अधिकार ममा मात्र निहित छ ।

सन् १९९१ मा नेपालले हस्ताक्षर गरेको “मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्र – १९४८” को धारा १८ ले स्पष्टरूपमा व्यक्तिको धर्मपरिवर्तन गर्न पाउने अधिकारको सुनिश्चितता गरेको छ । साथमा यस धाराले एक्लै वा सामुहिक रुपमा, गोप्य वा खुल्ला रुपमा आफ्नो आस्था र विश्वासको प्रचारप्रसार गर्न पाउने हक हरेक व्यक्तिमा रहने स्पष्ट गरेको छ । अंग्रेजी भाषामा यस धाराको पूर्ण अंश यसप्रकार छः

Everyone has the right to freedom of thought, conscience and religion; this right includes freedom to change his religion or belief, and freedom, either alone or in community with others and in public or private, to manifest his religion or belief in teaching, practice, worship and observance.

नागरीक तथा राजनीतिक अधिकारको अन्तर्राष्ट्रिय घोषणापत्र १९६६ ले पनि यही कुरालाई जोडदाररूपमा प्रस्तुत गरेको छ ।

यसरी आफैले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धीको खिलाफमा जाने गरेर, व्यक्तिलाई आफ्नैबारेमा निर्णय गर्न रोक्ने प्रकारको कानुन बनाएर नेपालले आफूलाई प्रजातान्त्रिक देशको श्रेणीबाट तल खसाल्ने आत्मघाती काम गरेको छ ।

एकातिर व्यक्तिलाई धर्मपरिवर्तनको अधिकार दिने गरी तयार भएको अन्तर्राष्ट्रिय सन्धीहरूमा हस्ताक्षर गरी तिनीहरूको पक्ष राष्ट्र बन्ने अनि अर्कोतिर आफ्नै देशमा ती सन्धी सम्झौताहरूको सिधै विपरित हुनेखालका कानुनहरू बनाउनु भनेको निकै लाजमर्दो कुरा पनि हो ।

अन्तर्राष्ट्रिय सन्धीहरूमा हस्ताक्षर गरी नेपाल देश पक्षराष्ट्र भएको अवस्थाको सम्बन्धमा नेपालको सन्धी ऐन २०४७ बोलेको छ । सन्धी ऐनले “नेपाल सरकार पक्ष भएको कुनै सन्धीको कुरा प्रचलित कानुनसँग बाझिएमा सो सन्धीको प्रयोजनको लागि बाझिएको हदसम्म प्रचलित कानुन अमान्य हुनेछ र तत्सम्बन्धमा सन्धीको व्यवस्था नेपालको कानुनसरह लागू हुनेछ ।” भनेर बताएको छ ।

यसरी हेर्दा स्वेच्छिक धर्मपरिवर्तनलाई बाधा दिने गरी बनाइएका नेपालका सबै कानुन अन्तर्राष्ट्रिय सन्धीहरूको हिसावबाट खारेज हुने अवस्था देखिन्छ । यति हुँदाहुँदै पनि हामी नेपालका कानुनले गरेका व्यवस्थाहरूको सम्बन्धमा आँखा चिम्लिएर बस्न मिल्दैन ।

कानुन बनिसकेपछिको अवस्थामा नेपाली ख्रीष्टियानहरूले ध्यान पुर्याउनुपर्ने क्षेत्रहरूः

नेपालमा अहिले बनेको कानुनका कारणले गर्दा नेपाली ख्रीष्टियानहरू आत्तिइहाल्नुपर्ने अवस्था छैन । त्यसै पनि ख्रीष्टियान जाति सतावटदेखि डराउने जाति होइन । हामीले ध्यान पुर्याउनुपर्ने केही क्षेत्रहरूलाई नजरअन्दाज नगर्ने हो भने अहिलेको कानुनले हामीलाई छेक्न वा बाधा दिन सक्ने छैन । प्रार्थनासहित हामीले हाम्रा कदमहरूलाई बडो संयमित तरिकाले अगाडि बढाउने हो भने हामी हाम्रो लक्ष्यमा सजिलै पुग्न सक्नेछौं ।

हामीले जबर्जस्ति वा प्रलोभनको सानोभन्दा सानो अंश पनि हाम्रो गतिविधिमा पार्नुहुँदैन, जसरी आजसम्म प्रलोभन देखाएर वा जबर्जस्ति गरेर धर्मपरिवर्तन गराउनुपर्ने आवश्यकता र इच्छा दुवै हामीमा छैन, यो अवस्था भोलि पनि यस्तै रहनुपर्छ । प्रार्थना र अग्रजहरूसँगको छलफल तथा सरसल्लाहपछि मात्र बडो सभ्य र शालीन प्रकारले हामी सुसमाचार प्रचारको निम्ति उत्रनुपर्छ । सिधै भन्नुपर्दा, प्रचारको नाममा यदाकदा देखिने उत्ताउलो शैली हामीले त्याग्नुपर्छ ।

प्रभुलाई विश्वास र ग्रहण गरी बप्तिस्मा लिन तयार भएको व्यक्तिलाई निवेदन शैलीको फाराम भराउनुपर्छ । “कसैको कर, बल, प्रलोभन वा बहकाउमा लागेर नभई आफ्नै स्वेच्छाले बप्तिस्मा लिनका निम्ति म तयार भएकाले बप्तिष्मा दिइपाउँ” भनेर पास्टर वा अगुवालाई सम्बोधन गरी निवेदन शैलीको फारम भरेपछि मात्रै बप्तिस्मा दिने चलन ल्याउनुपर्छ । सम्भव हुने अवस्थामा बप्तिस्मा लिन लागेको व्यक्तिको अभिभावक वा परिवारका सदस्यहरूको मञ्जुरीनामा पनि सोही फारममार्फत् लिनुपर्छ । अवस्था हेरी घटीमा ३–४ जना मानिसहरूलाई साक्षीको रूपमा फारममा हस्ताक्षर गराउनुपर्छ । फारममा हस्ताक्षर मात्रै नभएर औंठाछापको पनि प्रयोग गर्नुपर्छ ।

जे होस्, सम्बन्धित व्यक्तिले आफ्नै इच्छाले बप्तिस्मा लिन चाहेको हो भनेर खुल्ने गरी प्रशस्त प्रमाण तयार गरेपछि मात्रै बप्तिस्मा दिने गर्नुपर्छ । अन्यथा, कोही गलत मनसाय लिएरै पनि बप्तिस्मा लिनका निम्ति चर्चसम्म आउनसक्छ वा सही मनसाय लिएरै आएको व्यक्तिले पनि पछि कसैको लहैलहैमा लागेर वा प्रभावमा परेर चर्च र पास्टरको विरुद्धमा जबर्जस्तिको आरोप लगाउन सक्छ ।

हामी यति कुरामा स्पष्ट हुनुपर्छ कि प्रलोभन नदेखाइएको र जबर्जस्ति नगरिएको अनि सम्बन्धित व्यक्तिको इच्छा फारम भरिएको अवस्थामा दिइने बप्तिस्मा वा धर्मपरिवर्तनलाई नेपालको कुनै पनि कानुनले कारबाहीको चरणसम्म लैजान सक्दैन । यदि लैजान खोजेको खण्डमा ख्रीष्टियान हकहितमा काम गर्ने संघसंस्थाहरू मिलेर यो कानुनको खिलाफमा उत्रन सक्नुपर्छ । सन्धी ऐन २०४७ ले पनि अन्तर्राष्ट्रिय सन्धी मिच्ने खालको अहिलेको कानुन स्वतः निष्कृय हुने कुरा बताएको छ । आवश्यकताअनुसार नेपाली ख्रीष्टियान समुदायले संघर्षको त्यो बाटो पनि खुल्लै राख्नुपर्छ ।

Friday, 19 January 2018

नेपाली ख्रीष्टियानहरूमाथि उठाइएका १० प्रश्नहरू र तिनका जवाफ - जगदिश पोखरेल |

गुण र दोषको आधारमा समर्थन वा विरोध गर्नु आजको सभ्य भनिएको समाजको अपरिहार्य पाटो हो । आफ्ना कमजोरीहरूको प्रतिफलस्वरूप आएका बौद्धिक विरोध वा प्रतिवादको सबैले स्वागत गर्न सक्नुपर्छ ।

नेपालको ख्रीष्टियान समुदायमाथि पछिल्लो समय गरिएका अस्वभाविक प्रहारहरूले यहाँको सरकार, मिडियाजगत्, बुद्धिजीवीवर्ग र आमजनमानसको ज्वरो सजिलै नाप्न सकिन्छ । के नेपालका ख्रीष्टियानहरू यो लेभलको प्रतिवाद सहन योग्य नै हुन् त ? कि यी सबका पछाडी कुनै अदृश्य इसाराको हात छ र हाम्रा मानिसहरू आँखामा पट्टि बाँधेर तिनका पछाडी लागिरहेका छन् ?

यसबारेमा थुप्रै बहसहरू भएका छन्, धेरैले आफ्ना धेरैथरिका धारणाहरू सार्वजानिक गरेका छन् । एउटा ख्रीष्टियान हुनुको नाताले अहिले उठेका लगभग सबैजसो सवालहरूमा मैले आफ्नो धारणा राख्ने जमर्को गरेको छु । यहाँ दिइएका जवाफमध्येका केहि यसअघि नै बिभिन्न लेखहरूमार्फत् मैले लेखिसकेको  कुरा जानकारी गराउन चाहन्छु ।
१) के नेपालका ख्रीष्टियानहरूको यहाँ कुनै इतिहास छैन? के उनीहरू २-४ दशक अगाडि आएर हुकुम चलाउन खोज्नेहरू हुन् ?

नेपालमा सर्बप्रथम ख्रीष्टियान मिसिनेरीहरूको प्रवेश सन् १६२८ मा भएको थियो । तात्कालिन राजा लक्ष्मीनरसिंह मल्लले पोर्चुगलका मिसिनेरी जेसुइट फादर जुआन काब्रललाई हार्दिकताका साथ् स्वागत गरेका थिए । राजाले फादरलाई एउटा ताम्रपत्र दिएर पुरस्कृतसमेत् गरेका थिए, जुन ताम्रपत्रमा इसाईमतको प्रचार गर्न अनुमति दिइएको थियो । त्यसपछि सन् १६६१ मा बेल्जियमका मिसिनेरी अल्बर्ट र अष्ट्रियाका मिसिनेरी जोहानले नेपाल भ्रमण गरे, तर उनीहरू लामो समय नेपालमा बसोबास गरेनन् ।

यसको धेरै बर्षपछि सन् १७०३ मार्च १४ का दिन ६ जना केपुचिन फादरहरू इटालीको रोमबाट नेपालतर्फ हिंडे । आधुनिक खालका यातायातका साधनहरू नभएको तात्कालिन समयमा उनीहरूलाई काठमाडौं आइपुग्न झन्डै ४ बर्ष लाग्यो । सन् १७०७ फेब्रुअरी २१ का दिन काठमाडौं आइपुगेका उनीहरू ब्यवस्थित हिसावले चाहिँ सन् १७१५ बाट नेपालको भूमिमा बसोबास गर्न लागे । नेपाल आएको झन्डै ५३ बर्षपछि सन् १७६० मार्च २४ का दिन फादर ट्रान्क्विलियसले काठमाडौंमा “द एजम्प्सन अफ आवर लेडी” नामको चर्च सुरु गरे । जुन नामको चर्च ललितपुरको भनिमण्डलमा आजपर्यन्त छँदैछ ।

पछि गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरेपछि सन् १७६९ मा बिदेशी केपुचिन फादरहरूका साथमा दर्जनौं नेपाली ख्रीष्टियानहरूलाई पनि देशनिकाला गरेर भारतको बेतियातर्फ पठाइदिए । आज पनि भारतको बेतियामा तिनका सन्तानहरूलाई भेट्न सकिन्छ ।

नेपाली इतिहासको यो पाटोले स्पष्ट गर्छ कि नेपालका ख्रीष्टियानहरू भर्खर छिरेकाहरू होइनन् । राजा पृथ्वीनारायण शाहले चन्द्रागिरीको डाँडाबाट काठमाडौं खाल्डोलाई हेर्नुअघि नै यहाँका थुप्रै मानिसहरू ख्रीष्टियान भइसकेका थिए । आधुनिक नेपालको एकीकरणको इतिहासभन्दा नेपालका ख्रीष्टियानहरूको इतिहास पुरानो छ ।

२) सत्रौं सताव्दीमा भित्रिएका ख्रीष्टियानहरू र सदियौंदेखि यहाँ चलिआएका अन्य धर्मका अनुयायीहरूको तुलना एकसमान कसरी हुनसक्छ ? ती दुवैथरिकाहरूको राज्यमाथिको अधिकार कसरी एकै हुनसक्छ ?

यतिबेला नेपाल देश र यहाँको धार्मिक विविधतालाई एउटा संयुक्त परिवारसँग तुलना गर्नु उचित लाग्यो । परिवारमा ८० बर्ष नाघेका बुढा मानिसहरू पनि छन्, र भर्खर २-३ बर्षका बालबालिकाहरू पनि छन् । यस्तो अवस्थामा ८० बर्ष नाघेका बुढा मानिसले- म यो घरको पुरानो व्यक्ति हुँ, मैले दशकौं अघिदेखि यस घरको निम्ति दु:ख गरेको छु, त्यसैले भर्खर जन्मेका बालबालिकाहरूको बाँच्न पाउने अधिकार र मेरो बाँच्न पाउने अधिकारको कुनै तुलना नै हुन सक्दैन । यिनीहरू त हिजो जन्मेका न हुन्, यिनीहरूको त्यति बढी हेरविचार वा वास्ता गरिनु आवश्यक छैन भनेर भन्यो भने के होला? के यो कुनै सुहाउने कुरा हो र?

चाहे ८० बर्षअघि जन्मेको मानिस होस् या १ दिनअघि जन्मेको नै किन नहोस्, दुबैको बाँच्न पाउने अधिकार बराबर हुन्छ । चाहे नयाँ होस् वा पुरानो “मान्छे” – “मान्छे” नै हुन्छ । त्यसरी नै चाहे हजारौं बर्षदेखि यस देशमा चल्दै आएको आस्था होस्, वा केहि बर्ष अघिमात्रै भित्रिएको आस्था होस्; “आस्था” – “आस्था” नै हुन्छ । नयाँ भित्रिएको हुँदैमा कम मूल्यको मान्न मिल्दैन ।

३) धर्मपरिवर्तन अपराध हो कि अधिकार हो ?

एउटा व्यक्तिलाई कम्तिमा आफ्नोबारेमा स्वनिर्णय गर्ने अधिकार हुनुपर्छ । के लगाउने, के खाने, कहाँ घुम्न जाने, घरमा कुन रंग लगाउने, कुन पार्टीलाई भोट हाल्ने वा कुन आस्थाको पछि लाग्ने भन्ने जस्ता व्यक्तिगत निर्णयको अधिकार हरेक व्यक्तिमा हुन्छ । यसमा अरूहरूले बाधा दिन मिल्दैन । व्यक्तिले चाहे नेपालमै बस्न पनि सक्छ, विदेश जान पनि सक्छ । उसले चाहेको खण्डमा पहिलाकै आस्थाको पछि लागिराख्न पनि सक्छ र नयाँ छान्न पनि सक्छ ।

यो अकाट्य सत्य हो कि जबर्जस्ति रुपमा कसैले अरूको धर्मपरिवर्तन गराउन भने मिल्दैन । यसको साथसाथमा राज्यले पनि जनतालाई तैंले यहि धर्म मात्रै मान्नुपर्छ भनेर जबर्जस्ति गर्न मिल्दैन । नेपालको परिप्रेक्ष्यमा उदाहरणको रुपमा भन्नुपर्दा कुनै ख्रीष्टियानले जबर्जस्ति रुपमा अरूहरूलाई ख्रीष्टियान बनाउन मिल्दैन र राज्यले कसैलाई जबर्जस्ति रुपमा “तँ जे थिइस्, त्यही नै रहनुपर्छ, धर्मपरिवर्तन गर्न पाउँदैनस्” भन्न पनि मिल्दैन । यो त बिल्कुल व्यक्तिगत कुरा हो, यहाँ राज्य बिचमा आउनु जरुरी छैन ।

४) त्यसो हो भने ख्रीष्टियानहरू किन जबर्जस्ति धर्मपरिवर्तन गराउँछन् त?

यो निकै गम्भीर सवाल हो । धेरैपटक उठेको सवाल पनि हो । बाइबलले त आफ्नो छिमेकीलाई प्रेम गर्न सिकाउँछ, आफ्नो शत्रुलाई समेत् प्रेम गर्न सिकाउँछ । बाइबलले अरूहरूलाई जबर्जस्ति गर्न कदापी पनि सिकाउँदैन । एकातर्फ बाइबलले यस्तो सिकाउने अनि अर्कोतर्फ ख्रीष्टियानहरू बलजफ्ती वा प्रलोभनमा पारेर मानिसहरूलाई वाक्क पार्ने । यो कुरा घामझैं छर्लंग छ कि कहीं न कहीं समस्या त पक्कै छ ।

ख्रीष्टियानझैं देखिने केहि अनौठा समूहको प्रवेश नेपालमा पनि भएको छ । चिटिक्क कपडा लगाएर घरघर डुल्ने उनीहरूले पनि बाइबल नै पढ्ने भएका कारण धेरैले उनीहरूलाई नेपालका सम्पूर्ण ख्रीष्टियानहरूको प्रतिनिधि सम्झन्छन् । त्यो गलत सोचले नै अहिलेको ख्रीष्टियान-विरोधी भावनाहरू जन्माएको हो ।

उनीहरू वास्तवमा ख्रीष्टियानहरू होइनन् । बाइबल र ख्रीष्टियमतको आधारभूत कुराहरूलाई समेत् स्वीकार नगर्ने उनीहरूले आफू ख्रीष्टियान हुँ भनेर कहिल्यै भन्दैनन् । आफ्नो घरमा आउने वा बाटोघाटोमा भेटिने उनीहरूलाई तपाईंहरूले सिधै “के तपाईं ख्रीष्टियान हो?” भनेर सोध्नुभयो भने उनीहरूले जरुर “होइन” भन्नेछन् ।

उनीहरूले हिन्दु, बुद्धिष्ट, मुस्लिम वा अन्य कुनै धर्ममा आस्थावान व्यक्तिलाई भन्दा बढी एउटा ख्रीष्टियानलाई पछ्याउँछन् । त्यसको उदाहरण म आफै र धेरै ख्रीष्ट विश्वासीहरू छन् । जुन समस्याले आफुलाई नै सताइरहेको छ, त्यही समस्याको झुटो दोष पनि उल्टै आफैमाथि लाग्नु सानो पीडाको विषय पक्कै होइन । अरू धर्ममा भएका कतिपय विकृतिहरूजस्तै ख्रीष्टियानको पहिचान बेच्ने गरेर सुरु भएका यी गतिविधिहरूलाई पनि विकृतिको रूपमा सम्बोधन गरिनुपर्दछ ।

यदि कसैले साँच्चै जबर्जस्ति नै गर्दैछ वा मानिसहरूको इच्छाविपरित उनीहरूलाई बाधा पुग्ने गरेर आफ्नो कुरा राख्दैछ भने त्यसलाई सामाजिक अपराधअन्तर्गत राखेर कारवाही गरिनुपर्छ । त्यहाँ धर्मको कुरा ल्याउनु आवश्यक नै छैन ।

५) ख्रीष्टियानहरू किन प्रलोभनमा पारेर धर्मपरिवर्तन गराउँछन् ?

तिमी ख्रीष्टियान बन, त्यसवापत् तिमीलाई म यति पैसा दिन्छु भनेर कुनै ख्रीष्टियानले कसैलाई भन्दैन । लागेका आरोपहरूमध्येका अधिकांस कोही कसैले फैलाइदिएको अफवाहहरू मात्र हुन् ।

सयौं घुसखोरी सरकारी कर्माचारीहरूका साथमा निकै शक्तिशाली भनिएका नेताहरू समेत् भ्रष्टाचारमा मुछिएर जेलजीवन काटिसकेको यो देशमा आजसम्म किन कोही ख्रीष्टियान  पैसा दिएर ख्रीष्टियान बनाएको प्रमाणित आरोपमा पक्राउ परेन? वास्तवमा यहाँ “पैसा दिन्छु, ख्रीष्टियान बन” भनेर कसैले कहिल्यै भनेकै छैन । सामाजिक सेवाका निम्ति ख्रीष्टियानहरूको लगावलाई बंग्याउनुसम्म बंग्याएर पैसाको कुरालाई अगाडि ल्याइएको छ ।

६) ख्रीष्टियानहरूद्वारा संचालित एनजीओ/आइएनजीओहरूले किन ख्रीष्टियान धर्मलाई नै बढावा दिन्छन् ?

ख्रीष्टियानहरूले चलाएका  एनजीओ/आइएनजीओहरूले एउटा कामको लागि पैसा ल्याएर धार्मिक सवालमा लगाउनु हुँदैन । उनीहरूले जे कामको लागि ल्याएको रकम हो त्यसैमा लगाउनुपर्छ । आजसम्म कुनै एनजीओ/आइएनजीओबाट त्यसप्रकारको काम भएको पनि छैन ।

तर सुन्तला घारीमा सुन्तलाको बास्ना आउनु अनि आँप घारीमा आँपको बास्ना आउनु अस्वभाविक कुरा भने पक्कै होइन । एउटा धर्मनिरपेक्ष राष्ट्रले आफ्नो प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको गेटमा हिन्दु देवता देवीहरूको मूर्ति राखेर अनि राज्यको प्रतिष्ठित निकाय समाज कल्याण परिषद्ले आफ्नो भवनभित्र मन्दिर नै स्थापना गरेर एकल धार्मिक समुदायको पक्षपोषण गर्दासमेत् आजसम्म कसैले विरोध गरेको छैन । ती कुराहरूलाई यस देशको पहिचानको रूपमा यहाँका ५० लाख गैह्रहिन्दुहरूले मानेका छन् ।

यदि त्यसो हो भने ख्रीष्टियानद्वारा नै चलाइएका संघसंस्थाले आफ्नो धार्मिक पहिचान लुकाउनुपर्ने भन्ने तर्क कत्तिको न्यायोचित हो? हिन्दु रीतिविधीअनुसार पुजाआजा गरेर प्रधानमन्त्रीले विमानस्थल शिलान्यास गर्न हुन्छ भने ख्रीष्टियानहरूले आफ्नो संस्थामा/संस्थाका कार्यक्रमहरूमा प्रार्थना गर्न किन नहुने ? ख्रीष्टियान विधीहरू पालना गर्न किन नहुने? अरू समुदायहरूका साथसाथै ख्रीष्टियान समुदायको हकहितमा पनि आफ्ना कार्यक्रमहरू संचालन गर्न किन नपाउने ?

७)   ख्रीष्टियानहरूले चलाएका बालगृहका बालबालिकाहरूलाई किन ख्रीष्टियान नै बनाइन्छ ?

कुनै पनि आमाबाबुले आफ्नो घरमा जन्मेको नवजात शिशुलाई सोधेर उसको धर्म निर्क्यौल गर्दैन । एउटा हिन्दुले आफ्नो बच्चालाई नसोधिकन नै उसको न्वारन गरिदिन्छ, मुस्लिमले आफ्नो छोरालाई नसोधिकन नै उसको खतना गरिदिन्छ । यसरी हामी स्पष्ट हुन सक्दछौं कि आफ्नो आमाबाबुले बालबालिकाहरूमाथि आफ्नो रीतिरिवाज तथा चालचलन लागु गराउनु कुनै नौलो कुरा होइन । त्यो उनीहरूको अधिकार पनि हो । यसमा आजसम्म कसैले प्रश्न उठाएको छैन ।

नेपालले समेत् हस्ताक्षर गरेको नागरिक तथा राजनीतिक अधिकारको अन्तर्राष्ट्रिय घोषणापत्र   (International Covenant on Civil and Political Rights-ICCPR) १९६६ को धारा १८ को उपधारा ४ ले यसरी उल्लेख गरेको छ :

The States Parties to the present Covenant undertake to have respect for the liberty of parents and, when applicable, legal guardians to ensure the religious and moral education of their children in conformity with their own convictions.

अन्तर्राष्ट्रिय घोषणापत्रको यस धाराले कानूनी बाबुआमा (जसमा बालगृह संचालकहरू पनि पर्दछन् ) लाई आफ्नो संरक्षणमा रहेका बालबालिकाहरूलाई आफ्नै आस्थामा हुर्काउन पाउने अधिकार दिएको छ र हाम्रो देश नेपालले पनि यसमा आफ्नो समर्थन जनाइसकेको छ । यसरी हामी स्पष्ट हुन सक्दछौं कि बालगृह संचालक हिन्दु, मुस्लिम, बुद्धिष्ट, ख्रीष्टियान जोसुकै भए पनि बालबालिकाहरू १८ वर्ष नपुग्दासम्म संरक्षककै आस्थामा हुर्काउन पाउने अन्तर्राष्ट्रिय कानुन छ ।

सबैले निसंकोच आआफ्नो आस्थामा बालबालिकाहरूलाई हुर्काइराखेको भए तापनि ख्रीष्टियान समुदायलाई मात्रै तोकेर दोष्याइनुको प्रमुख कारण अनाथ बालबालिकाहरूको पक्षमा ख्रीष्टियान धर्मावलम्वीहरूको ठुलो लगाव हुनसक्छ ।

ख्रीष्टियानहरू आफ्नो संख्या बढाउनका लागि मात्रै सेवाका कामहरू गर्दैनन् भनेर सबैले बुझ्नु जरुरी छ । पवित्र धर्मशास्त्र बाइबलमा यसरी लेखिएको छ: “परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलंक राख्नु ।” याकूब १:२७

बाइबलले अनाथ र विधवाको सहायता गर्ने कामलाई सबैभन्दा शुद्ध र पवित्र धर्मको रुपमा चित्रण गरेको छ ।  यही कारणले ख्रीष्टियानहरू अरूहरूको तुलनामा धेरै सेवाकार्यका संलग्न छन् भनेर सबैले बुझ्नु आवश्यक छ ।

८) किन मिडियामा ख्रीष्टियानविरोधी समाचारहरू आइराख्छन् ? हावा नचली पात हल्लिन्छ र ?

नेपालका मिडियाहरूले ख्रीष्टियानहरूको सवालमा पत्रकारिताको धर्म नै बिर्सेका छन् । ख्रीष्टियान समुदाय आफ्नो शत्रु नै हो भन्ने भान पर्ने गरेर राम्रा कामहरूलाई लुकाउने र नराम्रा कुराहरूलाई बढाइचढाइ फुकाउने गरिएको छ । उदाहरणको लागि भूकम्पको संकट परेका बेलामा राज्यसमेत् नपुगेको ठाउँहरूमा पुगेर आफ्नो अर्को नभनी लाखौँ जनतालाई राहत वितरण गरेको कुराहरूलाई चटक्कै विर्सेर हुँदै नभएको कुराहरूलाई उचाल्ने काम गरियो ।

अर्को कुरा “ख्रीष्टियानहरूको विरोध” नेपाली मिडियाहरू (मुख्यतः अनलाइन मिडिया) का निम्ति चर्चा  कमाउने राम्रो तरिका बनेको छ ।  बाहिर आएका सबै खवरहरू झुटा हुन् भन्नु मेरो आशय होइन ।

घटना विवरण समाचारका लागि योग्य/अयोग्य के छ भनेर नबुझिकनै संचारमाध्यममा ल्याइनु, आरोपित व्यक्तिको तर्फबाट एउटा पनि कुरा नलेखिनुले नेपाली संचारजगतले यहाँको ख्रीष्टियान समुदायप्रति अन्याय गरेको प्रष्ट हुन्छ ।

हावा नचली पात हल्लिंदैन भन्ने कुरा एक हदसम्म सहि नै हो । तर पात हल्लिनलाई हावा नै आउनुपर्छ भन्ने पनि छैन । कहिलेकहिले बाँदरहरू आइदिन्छन् र पातमात्रै होइन, हाँगैसमेत् हल्लाईदिन्छन् । (उदाहरणको निम्ति प्रयोग गरिएको “बाँदर” शव्दलाई नकारात्मक रूपमा नबुझ्नुहुन अनुरोध छ ।)

९) सरकारले यत्तिको मान्यता दिंदादिंदै पनि ख्रीष्टियानहरूलाई किन नपुगेको ?

सरकारले ख्रीष्टियान समुदायलाई आजसम्म जुन मान्यता दिएको छ, त्यसका निम्ति नेपाली ख्रीष्टियान समुदाय नेपाल सरकारप्रति धन्यवादी छ । यति हुँदाहुँदै पनि सरकारसँग हाम्रो गुनासोहरू धेरै छन् ।

केहि वर्षअघि ख्रीष्टियानहरूले पशुपतिमा लास गाड्न थाले, हिन्दु धार्मिकस्थलमा कव्जा जमाउन थाले भनेर अनेक अफवाहहरू  फैलाइयो । तर वास्तविकता बुझ्ने फुर्सद कहिल्यै भएन । पशुपति हिन्दु धार्मिकस्थल भएकैले गर्दा ख्रीष्टियानहरूले त्यहाँ लास गाड्न गएका थिएनन्, त्यो त उनीहरूको अन्तिम विकल्प थियो । सरकारले उपलव्ध गराउँछु भनेर प्रतिवद्धता जनाएको समाधिस्थल आजसम्म कहींकतै उपलव्ध गराएको छैन ।

मृत्यूसंस्कार जस्तो अति भावनात्मक विधि पूरा गर्ने सवालमा सरकारले ख्रीष्टियान समुदायलाई पूरै वेवास्ता गर्नु सुहाउने विषय पक्कै होइन । सरकारले सबै जिल्लामा समाधिस्थलको निम्ति ख्रीष्टियान समुदायलाई जग्गा उपलव्ध गराउनुपर्छ । यदि त्यसो गर्न सम्भव हुँदैन भने स्पष्ट रूपमा आफ्ना निम्ति समाधिस्थल आफै किन्न निर्देशन दिनुपर्छ र त्यो ठाउँको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ ।

ख्रीष्टियानको बच्चा जनैपूर्णिमा वा इदको बिदा घरमै बसेर कटाउनेछ, तर ख्रीष्टमसको दिन बिहानै पोशाक लगाएर विद्यालय जानेछ । किनकि अब उसो ख्रीष्टमसमा सार्वजानिक विदा हुनेछैन, उसको विद्यालयमा साविकमा झैं पढाइ हुनेछ । गैह्र-सरकारी तथा व्यापारिक क्षेत्रमा काम गर्ने हजारौं ख्रीष्टियानहरू ख्रीष्टमसको दिनमा आफ्नो काम गर्न बाध्य हुनेछन्, किनकि उत्सव मनाउने उनीहरूको अधिकार हरण गरिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ख्रीष्टमस बिदा कटौतीको निर्णयले नेपाली ख्रीष्टियान समुदायलाई निकै ठुलो भावनात्मक चोट लागेको छ । दशैं, तिहार वा अन्य थुप्रै चाडका थुप्रै बिदा धेरै नभएको हाम्रो देशलाई एउटा समग्र समुदायको प्रतिनिधित्व गर्ने “ख्रीष्टमसको एक दिन बिदा” धेरै भएको छ ।

यी त केहि उदाहरणहरू मात्रै हुन् । हरेक नागरिकले पाउनुपर्ने थुप्रै नागरिक अधिकारहरूबाट राज्यले ख्रीष्टियानहरूलाई बन्चित गरेको छ । त्यसकारण नेपाल सरकारसँग नेपाली ख्रीष्टियान समुदायको गुनासो छ । गुनासो हुँदाहुँदै पनि “शासन गर्ने प्रशासकहरूको अधिनतामा बस” भन्ने बाइबलको आज्ञालाई शिरोपर गर्दै नेपालका ख्रीष्टियानहरू राष्ट्रनिर्माणको काममा सरकारलाई सघाउन हरघडी तयार छन् ।

१०) ख्रीष्टियानहरूले अरूहरूको सम्मान किन गर्दैनन् ?

“आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नु” भन्ने बाइबलको आज्ञालाई कसरी कोही ख्रीष्टियानले नजरअन्दाज गर्न सक्ला ? ख्रीष्टियानहरूले अरू आस्थाका मानिसहरूलाई अति सम्मान गर्दछन् ।

मैले यति मात्रै भन्ने हो भने पाठकमध्येका कसैलाई पनि यो कुरा चित्त बुझ्नेछैन भनेर म जान्दछु । हामी यो स्वीकार गर्दछौं कि यदाकदा ख्रीष्टियानहरूले अरूहरूलाई होच्याउने वा तथानाम भन्नेगरेको सुनिएको छ । त्यो सिक्न नसक्ने चेला वा सिकाउन नसक्ने गुरुको कारण उत्पन्न परिस्थिति हो । ख्रीष्टियान समुदायले आफ्ना मानिसहरूबाट हुनेगरेका त्यस्ता गतिविधिहरूको निराकरणका निम्ति पाइला चाल्नुपर्छ । पछिल्लो समय अरूलाई लान्छना नलगाउन थुप्रै चर्चहरूले आफ्ना सदस्यहरूलाई सिकाएका छन् र त्यसले देखिनेगरि परिवर्तन पनि ल्याएको छ । हिन्दु वा अरू कुनै धर्मका मानिसहरूले पनि ख्रीष्टियानहरूलाई यसप्रकारको दोष लगाएर पानीमाथिको ओबानो बन्न भने कदापि मिल्दैन । होच्याउने र गाली गर्ने कुराले ख्रीष्टियानहरू नै पनि पीडित छन् ।

निष्कर्ष:

नेपालका ख्रीष्टियानहरू यो देशका दुश्मनहरू होइनन् । अरूहरूलाई झैं, सम्भवत: अरूहरूलाई भन्दा पनि बढी यो देशको माया छ उनीहरूलाई! अरू धर्म, जातजातिहरू जस्तै ख्रीष्टियानहरूको पनि यस देशमा लामो इतिहास छ । यस देशको शिक्षा, स्वास्थ्य र सामाजिक समानताको क्षेत्रमा थुप्रै अग्रज ख्रीष्टियानहरूले गरेको मेहनत आजसम्म पनि उल्लेखनीय छ। ख्रीष्टियानहरूलाई यस्तो र उस्तो भन्नुको सट्टा सबै जातजाति, धर्मधर्मावलम्बीहरू मिलेर गुण र दोषका आधारमा समर्थन वा बिरोध गर्ने सभ्य परिपाटीको थालनी गर्दा कसो होला?
साभार :  नेपाल चर्च डट कम

Thursday, 18 January 2018

शैतानकाे युत्ति - ज्ञानु गिरी

"सुनसान जंगलको बाटो जादै थिए...अचानक अनौठो किसिमको हो-हल्ला सुनें, केको हल्ला हो हेर्नुपर्यो भन्ने मनसायले म त्यहीँ आवाजलाई पैल्याउदै आफ्नो पाइला लम्काए। अलिकति अघि बढेपछि म झस्किए किनकि मैले अचम्मको कुरा देखे, त्यहाँ त सैतान उसको सेनाहरुको गोप्य महासभा पो चल्दै रहेछ। अरु के-के हुँदा रहेछ भनेर लुकेर नियाली बसें, त्यो महासभाको प्रमुख चै स्वयं दियाबलस रहेछ। अनि लाखौं घिनलाग्दा भुतात्माले घेरिएर बसेको दियाबलस सैतान अलिक निराशा देखिन्थे। महासभामा विभिन्न घिनलाग्दा फोहोरी रीस उठ्दा आत्माहरु उपस्थित थिए झुटको आत्मा, ब्यभिचारको आत्मा, हत्यारा आत्मा, चोरीको आत्मा, निराशाको आत्मा, रोग बिराम फैलाउने आत्मा, आदि इत्यादि। ... महासभामा छलफल सुरु हुन भन्दा पहिला सानातिना भुतात्माहरु द्वारा सैतानको जयजयकार गरियो..." महाराज दियाबलसको जय "
"दियाबलस गर्जदै भन्यो :~ समय अल्प छ। अन्त्य आइसक्यो हाम्रो बिनास निश्चित छ, तर हामीले धेरैलाई फँसाउनु छ। त्यसैले तिमीहरूको केहि समस्या सुझाव छ भने भन..?  त्यसै बिच एउटा मरन्च्यासे भुतात्मा रुनखोज्दै बोल्यो, "महाराज बिस्वासीहरु फँसाउन एकदमै गार्‍हो भैरहेको छ। किनकि मण्डलीमा पहिला जस्तो सिधै आक्रमण गर्न गार्‍हो छ। ठुला- ठुला प्रचारकहरु पैदा भएका छन् तिनीहरूले प्रचार गर्दा त हाम्रो केहि लागेन , सतावटमा जेलमा पर्दा पनि येसुबाट अलग हुँदैनन् झन येसुको महिमा गर्दै आनन्द मनाउछन्, त्यसैमा एउटाले थप्यो, " महाराज तिनीहरुलाई सिधै झुट बोल्नको निम्ति फँसाउन गार्‍हो भयो। किनकि तिनीहरूले बाइबल धेरै पढ्न थालेकाछन् अनि हामीलाई येसुको नाउँमा झुटको आत्मा दुर होइजा भन्दै भगाउँछन् के गर्ने होला अबो, प्रार्थना गर्न पनि रोक्न सक्दैनौं। मण्डली जान पनि तिनीहरु जोसिलो भएका छन् मन्डली जान पनि रोक्न सकिन्न बाइबल पनि जागर लगाएर पढ्न थालेकाछन् महाराज हाम्रो त केहि नलाग्ने भयो ।
सैतान भुतात्माहरुको कुरा सुनेर एकछिन घोरिएर सोच्यो अनि फेरि बोल्यो, " तिमीहरू किन चिन्ता गर्छौं अहिलेसम्म त संसार मेरो हो म यो संसारको देव हुँ। तिमीहरूले आत्तिनु पर्ने कुनै कुरा छैन बरु ध्यान दिएर मेरो "युक्ति" सुन।
"अब इसाईहरुलाई कसरी फँसाएर येसुदेखी टाढा पार्नुपर्ने हो। त्यो कुरा म तिमीहरूलाई सिकाउछु, "सैतानले तेसोभन्दा न्याउरो अनुहार पारेर बसेका भुतात्माहरु पनि ठाडो नजरले मन्द मुस्कान त्यो घिनलाग्दो अनुहारमा देखाए। सैतानले सबैको ध्यान आफुतिर केन्द्रित गर्दै भन्यो, " हेर, अबो तिमीहरूले इसाईहरुलाई मण्डली जान पनि नरोक्नु, प्रार्थना गर्न पनि नरोक, बाइबल पढ्न पनि नरोक, रोग बिरामले पनि नसताओ, सतावटमा पनि नपार... तर यसो गर तिमीहरू पनि मण्डली भित्रै प्रवेश गर, जब प्रचारकले वचन प्रचार गर्न सुरु गर्छ। अरुलाई चाहिँ निन्द्रामा पार, आमा दिदिबहिनीहरुलाई गफमा भुलाओ, त्यो देखेर प्रचारक निराश हुनेछ। अनि कसैले वचन बुझ्ने छैन र परमेस्वरको आज्ञा उलंघन गर्न सुरु हुनेछ। र त्यहीँबाट सबै सर्बनासको सुरुवात हुनेछ, जब वचन नबुझेपछि मण्डलीमा कुरौटे आत्माले काम गर्नु अनि विशेष गरि महिलाहरुले एकले अर्काको विरुद्धमा खिल्ली उडाउदै परमेस्वरको आरधना बिटुलो पार्नेछ। अगुवाहरुमा पनि प्रचुर मात्रामा घमण्ड हालिदेओ ताकी तँ जान्ने कि म जान्ने भन्दै झगडा गरुन् , बाइबल कलेज पढेको ज्ञानिहरुलाई झन बढी ज्ञानको घमण्ड हालिदेउ ताकी तिनीहरुले अगुवाहरुको अनादर गर्दै मण्डली फुटाओस, सुन्दर जवान जवानीहरुमा रुपको कलाको घमण्ड हालिदेओ, ताकी तिनीहरु येसुको भन्दा आफ्नो महिमा गरुन्, र अन्त्यमा ब्यभिचारमा फसाओ , यसरी सबैको बचन सुन्नबाट ध्यानभंग गरेपछि तिनीहरुले परमेस्वरको सत्यता बुझ्ने छैनन् र मण्डलीमा झुटा शिक्षाको साथमा हामी राज गर्नेछौं। अनि तिनीहरु मण्डली तजान्छन् , बाइबल पनि पढ्छन् , तर मन मुटाबको साथमा एक अर्काको कुरा काटुन् अनि घमण्डले फुलिन भेला हुनेछन्। दियाबलसले यसो भनिसकेपछि सबै भुतात्माहरु खुशीले चिच्याउदै सैतानको फेरि जयजयकार गरे। र सैतानको त्यो युक्ति सिरोपण गर्दै बिस्वासीहरुलाई फसाउन निस्किए.....
अबुइ....
कस्तो खतरा युक्ति...
कतै तपाईले सेवकाई गर्ने मण्डलीमा त सैतानको युक्ति प्रवेश गरिसकेको छैन ?
कतै मण्डली मण्डलीका आमा दिदिबहिनीहरुमा ती कुरौटे आत्माले आक्रमण गरिसकेको त छैन ?
कतै जवानहरुमा मन मुटाबपो सुरु भै सकेको छन् कि..?
अगुवाहरुमा घमण्डको नमुना देखा परिसकेको छन् कि..?
बिस्वस्सीहरु बिच दुश्मनी , झगडा , ईष्र्या, बदख्वाई देखासिकीको आत्माले राज गरिसकेको पो छ कि..?
बाइबलीय वचन लिएर विवाद भैरहेको छ कि..?
मण्डलीमा फुट हाल्नेआत्माले काम गरिसकेको पो छ कि..?
कतै तपाईलाई नै त सैतानले ब्यस्त बनाइरहेको त छैन ?? होस् पुर्याउनुहोस् पक्कै पनि सैतानले तिब्ररूपमा हामीलाई फसाउन विभिन्न जाल रचिरहेको छ, माथिको एउटा काल्पनिक कथा भएता पनि त्यसमा बास्तबिकता लुकेको छ। अनि हामीलाई सजग वा चनाखो रहन सिकाउदछ। निक्कै पटक हामीले थाहा नै नपाई सैतानको पासोमा परिसकेका हुन्छौं, घमण्डले, अज्ञानताले, हामी भित्र बास गरिसकेको हुन्छ। त्यसैले आजै बाट सैतानको युक्तिहरुलाई इन्कार गर्दै, होस् पुर्याएर जीवनको लागि उहाँको सेवामा लिन हौं। साभार ः नयाँ अाशा.कम

हाम्रो गल्ती देखाई देउ सरकार - अाकाश मगर, उदयपुर ।

के गल्ती भयो सरकार हाम्रो?
प्रसङ्ग जोड्न चाहेको कुरा आज नेपाल बहु धार्मिक साँस्कृतिक र भाषिक भएको गणतान्त्रीक देश बनि सक्दा पनि नेपाली इसार्इहरु माथि केहि धर्मका खोल ओढेका कथित ब्यक्तिहरु र सरकारमा बसेर आफ्नो राजनीतिक अस्तित्व बचाउन सदियौ देखि भाइचारामा बस्दै आएको धार्मिक सम्प्रदायमा बेमेलको अवस्था सृजना खडा गर्ने दक्षिण पन्थिहरु, लम्पसारबादी र अवसरबादी नेताहरु आज खुलेआम देशका इसाई जनताको बिरोधमा उत्रीरहेका छन। आज सोध्न मनलागेको छ कि इसाईहरु देशको नागरिक हुन कि होइनन? यदि हुन भने किन चर्चमा बम पड्काईदा, इसाईहरुलाई केन्द्रीकृत गरि गोली चलाईदा सरकार किन मौन छ, पत्रकारका कलम किन चल्दैनन? एउटा गुन्डा माथि गोली चल्छ हस्याङ्ग फस्याङ्ग गर्दै मन्त्री भेट्न पुग्छ, पत्रीकाको हेड लाईन गुन्डा नाईके माथि गोलि प्रहार लेखिन्छ। आखिर के बिगारे इसाईहरुले र देशको तेस्रो दर्जामा  राख्यौ सरकार? के देश रुँदै गर्दा देशको आँसु पुछिदिनु गल्ती भयो? के भोकाहरुलार्इ भोजन जुटाउनु अपराध भयो? नाङ्गोहरुलाई बस्त्र दिनु गल्ती भयो?  कि देशमा शान्ति आओस भनेर हरेक समय ईश्वरसङ्ग देशको लागि प्रार्थना गर्नु हाम्रो गल्ती भयो? के सडकमा अलपत्र देखिएको वृद्द आमा बुवालाई देखेर वृद्दआश्रम खोल्नु गल्ती हो? कि कुलतमा फँस्दै गरेका टुहुरा गरीबहरुलाई लगेर बालआश्रममा राख्नु गल्ती भयो?  असत्यलाई त्यागेर राम्रो गर धर्म गर भन्नु गल्ती हो? कि त धर्म प्रचार नगरेर पाप प्रचार गर्नु पर्ने थियो? भन के गल्ती गरे इसाईहरुले र यहाँ दिँउसै गोली चलाउँदा तिम्रो सुरक्षा कर्मी कानमा तेल लाएर बस्छन।
के देशमा इसाईहरुलाई मानव अधिकार छैन ? 
सरकार इसाईहरुको सहनशिलताको धेरै परीक्षा नगर्नुहुन अनुरोध गर्दछु। इसाईहरुले बनाएको अस्पताल लिन सक्छौ, हाइड्रोपवर लिन सक्छौ, भोट लिन सक्छौ किन सुरक्षा दिन सक्दैनौ सरकार?
 कि हामीले हाम्रो अधिकारको लागि सडकमा टाएर नबाल्नु हाम्रो गल्ती भयो? कि हामीले देश बन्द गरेर ढुङ्गा हानाहान नगर्नु हाम्रो गल्ती भयो? माफी चाहान्छु सरकार यदि कारणहरु यहि हो भने। यदि इसाईहरु देशमा तेस्रो दर्जाका नागरिक हुन भने, यदि इसाइहरुको कुनै अस्तित्व छैन जस्तो लाग्छ भने। हात जोडेर भन्छु सरकार देशका इसाई INGO हरुलाई देशमा आउन नदिएर देखाउ, युरोपियन देशहरुबाट आएको सहयोग अनुदान हरु अस्विकार गरेर देखाउ, इसाई देशहरु घुम्न नगएर देखाउ। होईन भने आफ्नो राजनीतिक स्वार्थका लागि इसाईहरुलाई शत्रु नबनाउ। भन्ने नै हो भने हामीलाई मान्छेको सुरक्षा गर्ने सरकार चाहिएको छ, नरसंहार गरेर  पशु बचाउने होइन।
चुनाैती नै दिनु हो भने देशका ३० लाख इसाईहरु तिम्रो गोली र वमको कुनै परवाह गर्दैन, आफ्नो आस्था र बिस्वासको लागि। ईतिहासमा कोरिएका अक्षरहरु आज सम्म जीवन्त छ कि कसरी राजा पृथ्वीनारायण शाहले पाटनका १४ घर इसाईहरुलाई १७औं  शताब्दीमा देश निकाला गरेर २०० बर्ष इसाईहरुलाई प्रतिबन्ध गर्दा आज २१औं शताब्दीमा इसाईहरु सङ्ख्या र बिस्वासमा बढिरहेका छन, बुझेको भए राम्रो हुने थियो। राणा र पञ्चायतहरुको सतावटबाट  नमासिएका इसाईहरुलाई किन यस्ता डर देखाउँछौ? छाती फुलाएर भन्नु पर्दा म नेपाली इसाई हुँ, नेपाली नागरिक हुँ ,नेपाल हाम्रो घर हो यसैले हाम्रो मौनताको फाईदा कसैले पनि नउठाओस, निदाएको सिह गर्जन सक्छ।
बरु सम्झना गराउँछु जर्मनको हिटलरले हजारौं यहुदीकाे हत्या गर्‍यो तर आज अमेरिका उनै यहुदीहरुको कारण शक्तिशाली भएकोछ। तत्कालिन रोमका सम्राट नेरोले इसाईहरुको हत्या गर्‍यो निर्दोश मानिसहरु मारे तर खै बिलय भएको इसाई? इराक, सिरियामा ISIS ले इसाईहरुको संहार गर्‍यो तर आज त्यही इसाईहरु वृद्दी हुँदैछ चिनमा कम्युनिष्टहरुले  हजारौं इसाई नरसंहार गरे तर १५-२० करोड मानिस इसाई भएका छन खै त सतावट र बमले सखाप भएको? यसैले चुनौतिका साथ बिन्ती गर्छु नाङ्ग्लो ठट्टाएर हात्ती खेद्ने प्रयास नगर्नु।  आगोले जलेर नष्ट नहुने इसाईलाई किन आगो लाउने प्रयास गर्छौ ? सद्रक, मेसक, अबेदनगो र समस्त रोमी ईतिहासका इसाईहरु एक जीवन्त उदाहरण हुन, बम र बारुद्ले नसकिने इसाई, नाईजेरिया, पाकिस्तान, अफगानिस्तान, भारत, नेपाल, सिरिया, लिबिया, इराक र ईरान साक्षी छन।
बरु म भन्दछु जो ईतिहासमा बिलय भएर गएन अब कुनै भविष्यमा बिलय भएर जाँदैन। किन भने हामीमा पनि गोर्खालीकाे रगत बगेको छ, प्रेमले भरिएर बगेको छ, प्रेमले भरिएको यो रगतमा कसैले खेलवाड नगरोस।
केही दिन यता इसाई विरोधी मित्रहरुले हिन्दु सेना तथा शिव सेना नामक समुहहरुले इसाईहरुको मौनताको फाईदा उठाएर इसार्इ मुक्त देश अभियान भन्दै इसाईहरुको बिस्वासमा  चोट पुग्ने धम्की र बाईबल जलाउने चोर र डाँकाको शैलीमा झोला खान्तलासी गर्ने कार्य भैरहँदा स्थानिय सरकार र गृह मन्त्रालय अनि प्रधानमन्त्री समेत चुपचाप हुनुले इसाईहरुलाई तल्लो दर्जामा राखेको स्पष्ट बुझ्न सकिन्छ यसैले यो काम बन्द गरियोस भन्न चाहान्छु। हैन भने एक दिन स्वभाव बदलेका सिंहहरु आफ्नो पुरानो स्वभावमा फर्केर आयो भने, अथवा हाम्रो रक्षाको लागि शृष्टिकर्ता समक्ष हाम्रो पुकारा पुग्यो भने  त्यो समयको सामना कसैले गर्न सक्ने छैन। एउटा कुरा सबैले बुझ्नु पर्ने कुरा अनि सरकारले बुझ्नु पर्ने कुरा नेपाल देश इसाईको हो, हिन्दुको हो, मुस्लिमको हो, बौदिष्टको हो, किरातीको हो, जैन, सिख सबैको हो, सबैलाई जिउने अधिकार समान छ, तिम्रो त्यो भ्रष्ट हृदयको बहुमतले बनाएको मुलुकी ऐन जुन इसाईहरुको बिरोधको लागि लेख्यौ एक दिन त्यसले तिमीलाई सताउनेछ।  जे भए नि हामी हाम्रो देशको सरकारलाई माया गर्छौं, जति धेरै घृणा तिमी सरकार हामी इसाईहरुलाई गर्छौ त्यो भन्दा धेरै माया हामी तिमीलाई गर्छौं। हामी माया गर्छौं सबै धर्मका मानिसलाई जति तिमी हामीलाई घृणा गर्छौ, तिमी प्रति हाम्रो हृदयमा घृणा छैन रिस छैन क्रोध छैन, छ त माया छ, सद्भाव छ। हाम्रो अधिकारको लागि तिम्रो ज्यान लिन सक्दैनौ तर तिमीले जीवन पाँउछौ भने हामी मृत्यु स्विकार्न तयार छौं कारण हामी तिमीलाई माया गर्छौं। साभार ः नयाँ अाशा.कम

मानिसहरू किन बिरामी हुन्छन ? दानियल (बि.पि.) भट्ट

(क) जानी जानी गल्ती गर्ने बानी अर्थात पाप
हामी मानिसहरु नजानीकन थोरै मात्र गल्ती गर्छाैं तर धेरै गल्ती चाहिँ जानेरै गर्छाैं । यसो भन्दा तपाईंलाई अचम्म लाग्ला तर यसमा अचम्म नमान्नुस् कि तपाईंले गल्ती गर्दै हुनुहुन्छ भन्ने कुरा तपाईंको मनले तपाईंलाई भनिराखेकै हुन्छ । उदारणको लागि यदि तपाईंको चुरोट पिउने बानी छ भने । तपाईंले चुरोट पिउँदा तपाईंको मनले भित्रभित्रैबाट तपाईंलाई भनिराखेको हुन्छ, ‘चुरोट पिउनु नराम्रो बानी हो ।’ तर पनि तपाईं चुरोट पिउनुहुन्छ । यदि तपाईं सरकारी कर्मचारी हुनुहुन्छ भने भ्रस्टाचार गर्नु नराम्रो हो भन्ने कुरा तपाईंलाई थाहा छ । जब तपाइ अवैधानिक तरिकाले आम्दानी गर्नुहुन्छ त्यतिबेला, ‘यो काम गर्नु हुँदैन’ भनेर तपाईंको मनले तपाईंलाई भनिरहेको हुन्छ । तर तपाईं आफ्नो मनको वेदनालाई वेवास्ता गर्नुहुन्छ । यदि तपाईं किसान हुनुहुन्छ भने तरकारीमा विषादी प्रयोग गर्नु नराम्रो काम हो भनेर तपाईंको मनले तपाईंलाई भनिरहेको हुन्छ । तपाईं व्यापारी हुनुहुन्छ भने ग्राहकलाई ठगी गर्नु नराम्रो काम हो भनेर तपाईंलाई अवश्य पनि थाहा हुनुपर्छ । अझ सरल प्रकारले भन्नुपर्दा चाउचाउ, चक्लेट स्वास्थ्यको लागि फाइदाजनक छैन भनेर तपाईंलाई थाहा छ । काठमान्डौका मिठाई पसलमा भएका मिठाईहरु पूर्णरुपले अस्वस्थ छन् भनेर तपाईंलाई थाहा छ तैपनि तपाईं पर्वहरुको बेलामा प्रशस्त मिठाईहरु किनेर पाहुनाहरुलाई खुवाउनुहुन्छ वा आफू खानुहुन्छ (रोमी ७ः७–२५ पढ्नुहोस्) ।
जबसम्म तपाईंको मनमा, “खराब बिचार, व्यभिचार, चोरी हत्या, परस्त्रीगमन, लोभ, दुष्टता, छल, छाडापन, इर्ष्या, निन्दा, घमन्ड, मूर्खता” (मर्कूस ७ः २१–२२) हुन्छ तबसम्म तपाईंलाई विभिन्न किसिमका रोगविमार र समस्याहरुले दुःख दिइरहन्छ । ‘शरीरका कामहरु वा पाप स्वभावका कामहरु व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, भैं झगडा, इश्र्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी, डाह, पियक्कडपन, अस्लिल मोजमज्जा’ –गलाती ५ः१९–२०)  पनि पापहरु हुन् ।
(ख) पापमा रमाइलो गरेको परिणाम
अनि हामी प्रभु येशूलाई विश्वास गरिसकेकाहरुले पश्चात्ताप गर्नुपर्ने कुराहरु पनि यही हो । किनभने यस्ता पापहरु हाम्रा स्वभावहरुबाट आइरहेको हुन्छ । जसरी चितुवाले आफ्नो थोप्ला बदल्न सक्दैन त्यसैगरी पाप गर्ने बानी परेकाहरुले पनि पाप गर्न छाड्दैनन् (यर्मिया १३ः२३) पापचाहिँ तपाईंको स्वभावमै आएको हुन्छ, जसरी सुंगुर र कुकुरको स्वभाव फोहोरी हुन्छ (२ पत्रुस २ः२२), त्यसैगरी मानिसमा पापको स्वभाव हुन्छ । सुँगुरले हिलोमा रमाइलो गरेजस्तै मानिसहरु पापमै रमाइलो गर्छन्, पापमै लडिबुडी गर्छन् । उनीहरुको मुखमा कुवाक्य झुन्डिएको हुन्छ, अरुलाई नराम्रा शब्दहरु प्रयोग गरेर गाली गर्न मानिसहरु खुसी हुन्छन् । अनि मानिसहरुले बोलेका कुवाक्य तथा फोहोरी शब्दहरुबाट पनि दुष्टले मौका पाउँछ र मानिसहरु बिरामी हुन्छन् । उनीहरुको मुखमा निरन्तर फोहोरी शब्दहरु झन्डिएका हुन्छन् । यस्ता फोहोरी शब्दहरु प्रयोग गरेर मानिसहरु मज्जा लिने गर्छन् जसरी सुँगुर हिलोमा लडिबडी गरेर मज्जा लिन्छ । मानिसहरु निरन्तर रुपमा स्वार्थी भएका छन् ।
आजकलका धेरै इसार्इहरुले पनि परमेश्वरलाई समय दिँदैनन्, उनीहरु टिभी, इन्टरनेटमा व्यस्त हुन्छन् तर बाइबल पढ्ने, प्रार्थना गर्ने, बाइबलसँग सम्बन्धित पुस्तकहरु पढ्ने काम गर्दैनन् । यसैकारण अहिलेका मानिसहरु ‘आफैलाई मात्र माया गर्ने, रुपैयाँ पैसाको मोह गर्ने, घमन्डी, हठी, अरुको बदनाम गर्ने, आमा–बुबाको आज्ञापालन नगर्ने, बैगुनी, र अपवित्र, स्वभाविक प्रेम रहितका, खुशी पार्न नसकिने, अरुको बदख्याई गर्ने, दुराचारी, क्रुर, असल कुरालाई घृणा गर्ने, विश्वासघाती, उत्ताउला, अहंकारले फुलेका, परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, भक्तिको भेषचाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुन्छन्’ (२ तिमोथी ३ः३–१०) ।
साभार ः नयाँ अाशा.कम

मैले धर्म परिवर्तन गरेको होइन - दानियल भट्ट

म एक इसाई हुँ अनि इसाईहरुले जबरजस्ती धर्म परिवर्तन गराए भनेर मेरा आफन्तहरु तथा चिनेजानेका साथीहरु मसँग प्रायः क्रोधित भइरहन्छन् । म छक्क परेर प्रतिवाद गर्दै भन्ने गर्छु, इसाईहरुले कसैको धर्म परिवर्तन गराएका छैनन् । मैले धर्म परिवर्तन गरेको होइन ।
२०५८ सालमा मैले येशू ख्रीष्टलाई विश्वास गरेको हुँ । मलाई कसैले धर्म परिवर्तन गराएको होइन तर येशूसँग जम्काभेट भएपछि उहाँलाई विश्वास गर्न पाउँदा म अहिले ज्यादै खुसी छु । जब म ग्रैह इसाई थिएँ, त्यतिबेला पनि धेरै चुनौतिहरु थिए र अहिले पनि धेरै चुनौतिहरु छन् तर त्यतिबेला ति चुनौति र समस्याहरुले मलाई असाध्यै अशान्तिमा पारेको थियो । अहिले पनि मसँग त्यतिकै चुनौतिहरु छन् तर ति चुनौतिहरुको सामना गर्न मैले शान्ति पाएको छु । त्यस समय आफ्नो दुःख बिसाउने ठाउँ थिएन, मेरो पिर मर्का र समस्याहरु सुनिदिने र सही सल्लाह दिने कोही थिएन तर मलाई हकार्ने, गाली गर्ने र निराश बनाउने मानिसहरु मात्र मेरा वरिपरी थिए ।

मैले त्यसबेला कुनै असल कुरा भेटेको थिइनँ । त्यो असल कुरा मैले मेरा बाबु आमा, दाजुभाई तथा आफन्तहरु र साथीहरु कसैसँग पनि भेटिनँ । त्यो समय सम्झदा मलाई अहिले पनि कहाली लागेर आउँछ ! मेरो संसार यति स्वार्थी र मतलबी थियो कि मेरो कुरा राम्ररी सुनिदिने मानिस समेत मैले पाउन सकेको थिइनँ । मेरो निम्ति कुनै आशा थिएन । मेरो स्वास्थ्यको मलाई आशा थिएन, मेरो बाबु आमाको मलाई कुनै आशा थिएन किनकि म उहाँहरुको बुढेसकालमा जन्मिएको आमापट्टिबाट साहिलो र बुबापट्टिबाट छैटौं छोरा थिएँ । उहाँहरुले मेरो निम्ति केही पनि गर्न सक्नुहुन्न भन्ने कुरा मलाई राम्ररी थाहा थियो । मलाई मेरो पढाईको पनि आशा थिएन किनकि मेरो डिप्रेसनको छायाँमा मेरो पढाई बिग्रिएको थियो । मलाई मेरो सिपको पनि आशा थिएन किनकि निराशाको चरम समस्याले कुनै पनि सिप सिक्नको लागि म अयोग्य भएको थिए । मलाई मेरो बलको पनि आशा थिएन, जवान अवस्थामा नै मेरो बल घटिरहेको छ भनेर मैले थाहा पाएको थिए । मेरा दाजुभाईहरुको पनि मलाई कुनै आशा थिएन किनकि एउटा विकट गाउँका दाजुभाई जोहरुको कुनै राम्रो आम्दानी थिएन । मलाई कुनै जागिरको पनि आशा थिएन किनकि कुनै पनि जागिर खानको लागि म अयोग्य छु भनेर मेरो मनमा एउटा डरलाग्दो शत्रु बसेको थियो ।

मेरो बाबु आमाको निम्ति केही राम्रो काम गर्छ, वा पैसा कमाएर सुख दिन्छु भन्ने मेरो इच्छा थियो । तर ममा भएको निराशाको धमिराले ति सबै चाहनाहरुलाई खाइरहेको थियो । मेरा जीवनमा कुनै सुधार आउन सकेको थिएन । नता मेरो शारीरिक स्वास्थ्यमा कुनै सुधार आयो, न मानसिक स्वास्थ्यमा । यी दुबै स्वास्थ्य बिगैँदै जाँदा मेरो अवस्था त झनै डरलाग्दो हुन गयो । यहाँसम्मको भाँडा माझ्ने काम गर्नको निम्ति पनि म अयोग्य भएछु ।

केहीसिप नलागेपनि एउटा साथीको कोठमा शरण लिन पुगें । त्यसबेला ममा कान पाक्ने रोग थियो । रोगले मलाई झनै दुःख दिन थाल्यो । राती सुतेको बेलामा कहिले डरलाग्दो साँप आएर मलाई सपनामा बेस्सरी लखेट्थ्यो भने कहिले डरलाग्दो बाघ आएर मलाई लखेट्थ्यो । म आत्तिएर बिऊझन्थे । मेरो शरीरमा रोग थियो उपचार गर्ने पैसा थिएन । यसकारण मलाई यो संसारमा बाँच्ने कुनै चाहना भएन तर कसरी मर्न सकिन्छ होला भनेर म विचार गर्न थालें । अबको केही दिनमा आत्महत्या गर्नुपर्ला तर कस्तो प्रकारले आत्महत्या गर्ने त भनी म त्यसबोरमा बुझ्न थाले । आत्महत्या गरेका न्युजहरु पढ्न थाले र सजिलो प्रकारले मर्ने उपाए खोज्न थालेको बेलामा अचानक एकजना प्रचारकले येशूको बारेमा बताउँदाखेरी मैले उहाँलाई विश्वास गरेको हुँ ।

जब मैले येशूलाई विश्वास गरें तब ममा अचानक खुसीहरु फर्किएर आए । म हास्न सक्ने भएँ । ममा बाँच्ने रहर पलाएर आयो । अब त म पनि केही गर्न सक्छु भन्ने एउटा जोस जीवित भएर आयो । आत्महत्या गर्ने विचारलाई मैले त्यागें । यसैकारण म अहिलेसम्म जीवित छु र तपाईंहरुलाई मैले यो साक्षी दिएको हुँ । कसैले मेरो धर्म परिवर्तन गराएको होइन अथवा मैले कुनै धर्म परिवर्तन गरेको होइन तर मेरो जीवन मृत्युबाट जीवनमा सरेको मात्र हो, अन्धकारबाट ज्योतिमा सरेको मात्र हो, संसारबाट परमेश्वरमा फर्केको मात्र हो । मैले धर्म परिवर्तन गरेको होइन । साभार ः नयाँ अाशा.कम




उसकाे प्रभुले गर्भ राेकिदिएछ - डि पिटर बि के

सर्वप्रथम पिता,पुत्र,पवित्र अात्मालाई धन्यबाद।
मेराे छाेटाे जीवन गवाहि
येशू ख्रिष्टमाथि विस्वास गरि सकेपछि २०७०-७१ सालमा म र मेराे श्रीमति बच्चा जन्माउने याेजनामा थियाै १ बर्ष सम्म बच्चा भएन २०७१ माघ महिनासम्म  जति अाैषधि खाए पनि गर्भ बसेन डाक्टरले कृतिम विधि अपनाउनु पर्छ तपाईंकाे सिधा सम्पर्कबाट बच्चा बस्न असम्भव छ भनि सुझाव दिए।त्यसपछि हामी फेरि अाँउछाै भनी कृतिम विधि नअपनाईकन  घर तिर फर्कियाै  त्याे समयमा  मेराे अाखाँमा तलतल अाँसु  काे ढिका खसे-साथमा श्रीमती पनि राेर्इन  किनकि दुई बहिनी छाेरी पहिले येशू ख्रिष्टलाई बिस्वास नगर्दै जन्मेका थिए -कुनै त्यस्ताे कृतिम विधि अपनाउनु परेकाे थिएन हामी अतिनै दुखित  भयाैं " प्रभु सँग गनगन गर्न थाल्याै" प्रभु हजुरलाई विस्वास गरेर पनि अाज किन याे अवस्था भयाे भनी धुरुधुरु रुयाैं - छिमेकी र नातेदारहरुले एक पछि अर्काे गर्दै कुरा काट्न लागे  छाेरा पाउने अाशमा इसाई भएकाहरुकाे उसकाे प्रभुले गर्भ राेकिदिएछ अादि इत्यादि नकरात्मक कुरा  हाम्राे कानमा गुन्जिन अाईपुग्थ्याे झन निराश हुन्थ्याेैं ।
प्रभु येशूकाे बचन मत्ति ७:७ पद र १८:१९ पद अनुसार प्राथनामा समय बितायाैँ- त्यसपछि  माघ महिनामा नै मलेशिया जाने तयारी गरें -घरमा कुनै अायस्राेत थिएन-कुनै दिन चर्चमा भेटि हाल्ने पैसा समेत हुँदैन थियाे- काठ्माण्डाै अाएर मेडिकल जाँच गरे दायाँ काेखामा कालाे दाग भएकाे रिपाेर्ट अायाे अाैषधि लिएर घर फर्के- त्यहि समयमा गर्भ बसेकाे रहेछ हामीलाई थाहा भएन मनमा अनेक कुरा खेल्न लागे- दुई बहिनी छाेरी पाउन कुनै अाैषधि र कृतिम विधि अपनाउन परेन- दुई चाेटि विदेश गईसकेकाे व्यक्ति हुँ कुनै कालाे दाग देखिएन अाैषधि पनि खान परेकाे थिएन भनेर मेराे मन उकुस मुकुस भयाे???? अाफुले अाफैलाई धिक्कार्न लागे-[[[[याकूब 1:2-4 मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ।किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ। धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ।]]]याे वचन मेराे जीवनमा ठुलाे सान्त्वना दियाे -संगति जान बाईबल अध्यन गर्न,प्राथना गर्न छाडेकाे थिएन!! यतिधेरै दुख पिडाकाे समयमा मलेशियाकाे भिषा अायाे- फेरि काठ्माण्डाै अाएर मेडिकल जाँच गर्दा कालाे दाग उस्तै छ भन्याे- मेराे मनमा त जाँ चिन्ता नगर भन्ने अावाज अायाे-१ पत्रुस ५ काे ७ पद अनुसार पवित्र अात्मा बाेल्नुभयाे-  अनि मैले एजेन्ट सँग सल्लाह गरे एजेन्टले भने -भाइ तपाईं जानू मलेशियामा पनि कालाे दाग देखायाे भने ३ महिना सम्म गरि नेपाली  १५ हजार काट्छ । त्यसपछि मलेशिया जाने तयारीमा थिँए- घर फाेन गरेकाे श्रीमतीले मुस्कुराँउदै भनिन हाम्राे परमेश्वरले प्राथना सुन्नुभएछ- चिन्ता नगर्नु गर्भ रह्याे हिजाे सरकारी हस्पिटलमा गएर जाँच गराएकाे बच्चा छ भन्नुभयाे भनिन, अनि येशूलाई धन्यबाद दियाै???? म पनि खुशी हुँदै मलेशिया गँए उहाँ पुगेपछि  काममा लागें- मेडिकल जाँच गर्याे -पहिलाे ,दाेस्राे,तेस्राे महिना बिति सक्याे पैसा काटेन  चाैथाे महिना लाग्दा सम्म पैसा काटेन यसरि नै समय बित्दै गयाे -बच्चा पनि असल तरिकाले जन्म भयाे अाजभाेलि - म धेरै खुशि -छु- येशूकाे उपस्थिति महसुस गरिरहेकाे छु- साँच्चै परमेश्वरले हाम्राे र्इच्छा भन्दा पनि उहाँकाे ईच्छा अनुसार ठिक ठिक समयमा हाम्राे दुख पिडाकाे घाउमा मलम पत्ति लगाउनुहुँदाे रहेछ।
भजनसंग्रह ९१:१५ (परमप्रभु भन्नुहुन्छ) त्‍यसले मेरो पुकार गर्नेछ,  र म त्‍यसलाई उत्तर दिनेछु।  त्‍यसका दु:खको घड़ीमा म त्‍यससँग हुनेछु, म त्‍यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।
साभार ः नयाँ अाशा.कम

अपाङ्ग भएकोले नै समाजले मलाई हेपाह दृष्टिकोणले हेर्थे - पा. रोमान्स थपलिया

"अपाङ्ग भएकोले नै समाजले मलाई हेपाह दृष्टिकोणले हेर्थे र भन्थे कि, तिमीले मागेर नै खानु पर्छ , किनकी न तिम्रो गला छ न कला नै छ ।"

सबैलाई येशू ख्रीष्टको नाऊमा जयमसिह | परमेश्वरले तपाईहरु सबैलाई आशिष दिनुभएको होस् | मेरो नाम रोमान्स थपलीया | आज म मेरो जीवन गवाहीलाई बाड्न गइ रहेको छु | मैले प्रभुलाई पाए देखि लिएर मेरो विबाह सम्मको गवाही आज तपाईहरु संग बाड्न जादैछु | किनकि म ठान्दछु कि जीवन गवाही अरु...को निम्ति बन्न सक्छ आत्मिक दबाई |

मेरो नाम रोमान्स थपलीया हो | हाल म पोखरामा टुरिष्ट बस पार्कमा रहेको न्यु लाईफ एपोस्टोलिक चर्चमा पुरा समय सेवकाई गर्दैछु | मेरो शारीरिक दुर्बलताको कारण पनि म जुन काम गर्दैछु त्यसमा म अति नै खुशी छु र परमेश्वरमा धेरै भन्दा धेरै धन्यबादी नै छु | यो गवाही द्वारा धेरैले उत्साह पाउन् भन्ने म चाहन्छु त्यसैले म बाड्न चाहन्छु | बरु अलि लामो छ त्यसैले सम्भब भए समय मिलाएर अवश्य पढ्नुहोस है त ..........

मेरो जन्म दिल्लीमा भएको हो | मेरो आमा बुवा भन्नु हुन्छ कि म जन्मिदा राम्रो जन्मिएको थिए | ६ महिना सम्म म राम्रो थिए,स्वास्थ्या थिए | ६ महिनाको उमेरमा नै डेढ दुई वर्षको जस्तो थीए रे | आमा बुवाले मलाई भन्नु हुन्थ्यो कि बाबु तिमी ६ महिनाको हुदा नै भित्ता समातेर हिड्न सक्ने भएका थिएउ | त्यति बलियो तिमी थिएउ | तर जब म ७ महिनाको भए तब अचानक मलाई ज्वारो आयो | ज्वारोले गर्दा म तातिएकोले मेरो आमा अत्तालिनुभायो र ऊहाले मलाई मेडिकल लिएर जानुभयो | त्यति बेला मेरो आमा १८ वर्षको हुनुहुन्थ्यो | मेरो आमा बाबा पहाड तेह्रथुम बाट ईन्डिया जानुभएको थियो | मेरो आमालाई हिन्दि त्यति राम्रो संग आउदैन थियो | मलाई मेडिकलमा जचाउन लानुभयो | मेरो अवस्था देखेर डाक्टर पनि अत्तालिएको रे | वास्तविक कारण थाहा छैन त्यो परमेश्वर जान्नु हुन्छ तर मलाई त्यस बखत त्यो डाक्टरले लगाइदिएको सुई गलत परेछ | घरमा कसैलाई थाहा छैन | त्यसपछि आमाले मलाई घर ल्याउनु भयो | आमाले म अब निको हुन्छु भन्ने सोच्नुभएछ | त्यसपछि आमा घरधन्दामा ब्यस्था हुन थाल्नुभयो | एक जना अंकल हुनुन्थ्यो जसले मलाई माया गरिकन खेलाउनुहुन्थ्यो | ऊहाले मेरो हात खुट्टामा कौकुत्ति लगाईदिनुहुन्थ्यो र म कौकुत्ति लागेर आफ्नो हातखुट्टा यताउता चलाउने गर्दथे रे | तर त्यस दिन अंकलले मेरो हातखुट्टामा कौकुत्ति लगाउनुहुदा मेरो हात खुट्टा , वा शरिरको कुनै अंग चलेन | त्यसपछि अंकले आत्तिएर आमालाई भन्नुभयो हेर्नुहोस त भाउजु तपाईको छोराको हातखुट्टा केहि चल्दैन त | मेरो आमाले पनि मलाई चेक गर्नुभयो | चेक गर्दा नभन्दै मेरो हातखुट्टा कुनै पनि चलेन | त्यसपछि मेरो आमा आत्तिनुभायो | मेरो त हातखुट्टा मात्र नभई पुरै शरिर नै चल्न बन्द भएको थियो | त्यसपछि फेरी चेकअपको लागि मलाई लादा मलाई अगिल्लो पटक लगाईको सुई गलत भएको रिपोर्ट आयो | यसरि ७ महिनाको उमेरमा नै मेरो शरिर चल्न बन्द भएको थियो |

मेरो आमा बाबाले पाहाड बाट ल्य्याउनुभएको गरगहनाहरु सबै बेच्नुभयो | मेरो उपचारको निम्ति थुप्रै पैसा सकाउनुभयो | मलाई एउटा मेडिकलमा साढे तिना महिना राखियो | त्याहाको उपचार पछी बल्ल मेरो दुई हातहरु चल्न थाले | बिस्तारै मेरो कम्बर देखि माथिको भागहरु चल्न थाल्यो | तर मेरो खुट्टा चलेन | र आजको दिन सम्म मेरो खुट्टा अचल नै छ | मेरो खुट्टामा ताकत छैन सायद मासु कम भएकोले हुन सक्छ | म अहिले पनि आफ्नो खुट्टामा उब्भिदा खुट्टा एकदम काम्दछ |

म परिवारमा जेठो छोरो हु | म भन्दा मुनि ४ जना बहिनीहरु र एक जना भाइ छ | मेरो बाबाआमाले अनेक गर्नुभो मेरो लागि | धेरै पैसा सकाउनु भयो तै पनि मेरो खुट्टाको कुनै सुधार हुन सकेन | म आफ्नो दूई हातको साहरा लिएर हिड्ने गर्दथे, भनौ भने लाज लाग्छ ४ हातखुट्टा टेकेर म हिड्ने गर्थे | ४ खुट्टे जनवारहरु हिडेको झैँ हिड्न म बाध्य थिए | म ४ हातखुट्टा टेकेर पर पर सम्म डुल्थे | यसरि नै मेरो जीवन वित्दै जाद जब म १५ वर्षको भए तब मलाई यो महसुस हुन थाल्यो कि म अब जवान हुदैछु | म अब यसरि डुल्नु हुदैन | त्यसपछि म घर देखि बाहिर जान बन्द गरे | म घरमा नै सिमित भए | त्यसपछी हेर्दा हेर्दै २०५५ सालमा हामि नेपाल आएउ | म नेपालमा आउदापनी मेरो हिडाई चाहि त्यहि चारखुट्टे नै थियो | मलाई यसरि हिड्न लाज लाग्दथ्यो तर यो मेरो बाध्यता थियो | बिस्तारै बिस्तारै मेरो हिड्ने तरिका परिवार्तन हुदै गयो | किनभने म बसेर हिड्न थाले |

नेपालमा अईसकेपछी हामीलाई धेरै गाह्रो भयो | इन्डियाम हुदा हाम्रो आर्थिक अवस्था ठीकै भएको भएता पनि नेपाल आएपछि त्यहि अवस्था यथावत रहेन | म परिवारको जेठो छोरो | मैले केहि गर्नुपर्छ भन्ने मलाई लाग्थ्यो र आफुले केहि गर्न नसकेकोमा धेरै चिन्ता लागेर आउथ्यो | अब त उमेरले पनि परिपक्कतामा धकेल्दै थियो तै पनि शारीरिक अवस्था राम्रो नभाको कारण चाहेर पनि जेठो छोराको कर्तब्य बहन गर्न नसक्दा मलाइ धेरै चिन्ता लाग्थ्यो | घरमा कमाउने बाबा मात्र हुनुहुन्थ्यो | त्यसैले घरको अवस्था नाजुक थियो | मेरो परिवारको निम्ति मैले पनि केहि न केहि गर्नुपर्छ भन्ने लाग्थ्यो र धेरै चिन्ता लाग्थ्यो | यसरि म २०,२२ वर्षको भए | यतिका वर्ष सम्म घरको जेठो छोरा भएर केहि गर्न नसक्दा लाज पनि लाग्थ्यो | बसी बसी खाएको जो थिए | म आफ्नो भबिष्यको विषयमा जान्न चाहन्थे ज्योतिषीलाई आफ्नो हात देखाए | ज्योतिषीले भन्थ्यो कि बाबु तिम्रोमा साढे ७ को ग्रह छ, ग्रह काट्नुपर्छ | धन प्राप्ति छैन | मैले सोध्थे कि मेरो विबाह हुन्छकी हुदैन | ज्योतिषीले भन्थ्यो कि विवाहको योग छैन | यस्तै यस्तै धेरे नकारात्मक कुराहरु मैले सुन्नमा पाए | छरछिमेकीलेहरुले पनि मलाई गिराएर कुरा गर्थ्यो | एक जना छिमेकीले मलाई भन्नु भएको थियो कि तिमी बेकारमा जन्मिएउ , तिम्रो न गला छ , न कला छ | काठमाण्डौ गेटलाइन चौरमा भोक हटताल गरेर आत्माहत्या गरे राम्रो हुन्छ , तिम्रो परिवारलाई पनि आनन्द हुन्छ | किनभने तिमी घरको ठुलो छोरा ,तिमी केहि गर्न सक्दैनौ भने त्यसै गर | कति जनाले चाहि यस्तो भन्थे कि तिमीले केहि गर्न सकेनौ भने बाटोमा रुमाल राखेर केहि गीत गाएउ भने तिमीलाई दुईचार पैसा आउछ | तिमीले मागेर नै खानुपर्छ भनेर मलाई व्यंग्यात्मक शैलीमा भन्ने गर्थे | मलाई मनमा धेरे खिन्नता आउने र नराम्रो लाग्ने हुन्थ्यो | मैले येशूलाई त्यस समय नचिनेको भएतापनि म एकदम इश्वारबादी थिए | जसको कारण मेरो घरमा धेरै देबी देउताको फोटोहरु हुन्थ्यो | अनि एकदम भगवानको पुजा गर्ने गर्थे र भगवानलाई भन्ने गर्थे कि मलाई किन यस्तो बनाएउ ? धेरै प्रश्नहरु म राख्थे किनकि म धेरै निरासाको सामना गर्दै थिए | चारैतिरबाट नकारात्मक कुराहरु मात्र सुन्ने गर्थे |

मेरो शारीरक अवस्था यस्तो भएको कारण मैले राम्रो संग पढ्न पनि पाईन | किनभने धेरै गाह्रो हुन्थ्यो | खुट्टाको कारण तलमाथि गर्न मलाई गाह्रो हुन्थ्यो | चारखुट्टे वा बसेर हिड्नु मेरो लागि सजिलो थिएन | धेरै गाह्रो हुन्थ्यो , स्वास बढेर आउथ्यो | इन्डिया हुदा ५ कक्षा सम्म पढे | नेपालमा आएर ६,७,८ कक्षा चै घरमै पढेर जाच दिएर पास गरे | जब म जवान अवस्थामा प्रबेश गर्दैथिए औ २२ , २३ वर्षको थिए | कसलाई रहर हुदैन र राम्रो लगाउन , त्यसमाथि जवान अवस्थामा थिए | चाहना हुन्छ राम्रो लगाउने , गोजीमा पकेट खर्च होस् | तर वास्तविक मेरो जीवनमा यो सब केहि थिएन | मैले च्यातिएको लुगालाई पनि मजाले टालेर लगाउथे | मेरो साथीहरु चाहि प्राय धनि धनि नै थिए , उनीहरुले कहिले काही मलाई उनीहरुको घरमा बोलाउदा म जान्थे | साथीहरुको घरमा राम्रो राम्रो जिन्सको लुगाहरु देख्थे | हेर्दा लोभ लाग्थ्यो | तर के गर्नु साथीहरु हुन ,भनौ पनि कसरि ? तिमीलाई गाह्रो भो वा केहि चाहियो भने हामीलाई भन है हामी सक्दो सहयोग गर्छौं भनेर साथीहरुले भन्थे | मनमा त कति कुरा हुन्थ्यो , मनको कुरा आफ्फै बुझेर यसो एकजोर लुगा दिए हुन्थ्यो भन्ने लाग्थ्यो | वास्तबमा ति राम्रो लुगा लगाउन मलाई रहर भन्दा पनि मेरो आवश्यकता थियो , मेरो बाध्यता थियो | किनकि मलाई राम्रो लुगा लगाउन घरको आर्थिक अवस्थ नाजुक भएकोले धेरै गाह्रो पर्थ्यो त्यसैले म च्यात्तिएको लुगाहरु टालेर लगाउने गर्थे | मेरो खाने लगाउने भन्ने जवान अवस्था वा उमेरमा मेरो त्यस्तो अवस्था थियो | घरमा कमाउने बाबा मात्र हुनुहुन्थ्यो | बाबालाई पनि धेरै गाह्रो थियो किनकि बाबा पनि बुढो भै सक्नु भएको थियो | खाजाहरु खाने समयमा म साथीहरु संग बस्दिन थे , कारण म संग खाजा खाना पैसा हुदैन थियो | यस्तो अवस्थाहरु देख्दा मलाई धेरै गाह्रो र अफ्ठ्यारो महसुस हुन्थ्यो | कहिले काही त लाग्थ्यो कि म किन जवान भए ? म त जवान नभएपनि हुन्थ्यो भन्ने लाग्थ्यो | किनभने जवान भएको कारण नै कति प्रश्नहरु मेरो निम्ती घोच्ने तिखा प्रहारहरू बने | मलाई सोधिन्थ्यो कि तिम्रो विबाह भएको छैन ? परिवार भएको छैन ? यस्तै यस्तै धेरै गिराउने अभिप्रायको प्रश्नहरुले मलाई झन् झन् निरासपुर्ण जीवन जीउन बाध्या गराउदै थियो | भविष्यमा केहि गर्छु, सकिन भने आत्मा हत्या गर्छु भन्ने सोच आउथ्यो | एक्लोपनको पकडमा थिए , त्यसपछि म सायरी र कबिताहरु लेख्न थाले | प्राय मैले लेख्ने सबै सायरी वा कविताहरु आत्माहत्या , अन्धकार , निरासा आदि सबै नकारात्मक नै हुन्थ्यो | मेरो जीवन अति कठिन थियो | देबि देवता पुजे , ज्योतिषीकहा धाए , तर मैले कसै बाट पनि जीवनको एउटा सानो आसा समेत पाईन | यसरि समय बित्दै थियो | मैले जीवनामा धेरै कुराहरु गर्न खोजे | मैले सायरी र कविताको साथसाथै कथाहरु पनि लेख्थे | घरको अवस्था ठिक होला कि भनेर म फिल्म छेत्रमा कथा लेख्ने कोसिस गरे | मैले थुप्रै डाइरेक्टरहरुलाई पनि भेटे | म काठमाण्डौ सम्म पनि गए तर सफल भईन | राम्रो गर्थे , मन पाराएको झैँ पनि गरेका थिए तर खै के पुगेन म सफल भईन | धेरै निरासहरु आयो तै पनि केहि न केहि त गर्छु भनेर त्यसपछिं म अपाङ्ग सस्थाहरुमा गए | मेरो घर झापामा हो | अपांग सस्थाको लागि साथीसंग जाद बीचबाटोमा नै कृष्णभिरमा पहिरोले बाटो जाम भएको कारण फर्किनु पर्यो | यसरि मेरो हरेक प्रयासहरु बिफल हुदा म चिन्ताले झन् ग्रस्त थिए | मनमा अशान्ति अशान्तिको कुराहरु मात्र हुन्थ्यो | अब त मेरो विबाह हुदैन होला, परिवार हुदैन होला, म केहि गर्न सक्दिन होला | अब त म आत्माहत्या नै गर्छुहोला भन्ने लाग्थ्यो र म यस्तै सोच्थे | यस्तै नकारात्मक कुराहरु मेरो दिमागमा घुमी रहन्थ्यो |

परमेश्वरको अनुग्रह एकदिन अचानक मैले एउटा काम पाए | गाडी लायनमा कर उठाउने काम मैले पाए | मेरो कमाई राम्रो भयो | मैले आफ्नो लागि लुगा किन्न सके | घरमा पनि मैले केहि समान वा खर्चहरु दिन सके | त्यो जागिर पाएपछि राम्रो भयो | यति राम्रो भयो कि यति राम्रो भयो कि सबै कुरा ठिक चलिरहेको थियो | यो सबमा परमेश्वारको महान योजना थियो | एक दिन एकजना ब्यक्तिबाट प्रभु येशूको बारेमा मैले सुने | त्यसपछि अरु एक दुईजना ब्याक्तिहरु पनि मलाई भेट्न आउनुभयो र येशूको बारेमा मलाई सुनाउनु भयो | मैले येशूको बारेमा दिल्लीमा पनि सुनेको थिए अर्थात दया सागर भन्ने येशूकों फिल्म हेरेको थिए | खास्सै नकारात्मक चै केहि लाग्दैन थ्यो | तर देबि देउताहरू, सईबाब जस्तै होलान भन्ने लाग्थ्यो | तर के थाह येशू मुक्तिदाता हुनुहुन्छ भनेर | येशू पापबाट छुटकरा दिनुहुने परमेश्वर हुनुहुन्छ भनेर थाहै थिएन | अनि त्यसपछि ऊहाहरुले मलाई येशूको बारेमा सुनाई सक्नुभएपछी बाईबल पनि दिनुभयो | त्यसपछि मलाई अति आनन्द लाग्यो | अति आनन्दको महसुस भयो | ति दिनहरुमा मलाई शिर देखि खुट्टासम्म एलर्जी भएको थियो | जे गर्दा पनि निको भएको थिएन | लगभग ३ वर्ष भै सकेको थियो | डाक्टरले कालो दाला नखानु , आलु नखानु धेरै कुराहरु नखानु भनेको थियो तर जे गर्दा पनि मेरो शरीरमा आएको एलर्जी निको भएको थिएन | मलाई येशूको बारेमा बताउने व्यक्तिहरुले मेरो निम्ती प्रार्थना गर्नुभयो र त्यसको केहि समय पछी मेरो शरीरमा आएको एलर्जी पुरै निको भयो | त्यसपछि मैले कालो दाला खाना मिल्यो र आलु खाना मिल्यो जसले गर्दा मलाई एकदम सजिलो भयो | ऊहाहरुले मलाई निरन्तर डोर्याउनुभायो | त्यसपछि मैले एउटा संकल्प गरे कि म त्यसै चर्च जादिन, पहिला म बाईबल पढ्छु | ऊहाहरुले मलाई नयाँ करारको बाईबल दिनुभयो | मैले सुरु देखि पढ्न थाले | जति जति पढ्दै गए त्यति त्यति नै आनन्द लाग्न थाल्यो | मैले बिस्तारै बुझ्न थाले कि मेरो लागि पनि भबिष्यमा केहि योजना छ | त्यसपछि म चर्च जान थाले | म निरन्तर शनिबार चर्च जान थाले | त्यो बेला शनिबार चै गाडी ज्यादा आउथ्यो त्यसैले कमाई एक दम धेरै हुने गर्थ्यो | तै पनि म काम छोडी छोडी चर्च जान्थे | एक दिन मलाई काम लगाउने ठेकेदार म शनिबार चर्च गएको बेला म काम गर्ने ठाउँमा आएछ तर म चै थिईन | अनि एक दिन उसले मलाई भन्यो ,'' तिम्रो हातमा बाईबल पनि छ के तिमीले ख्रीष्टियन धर्म लिएउ ? बल्ल बल्ल काम पाएका छौ , काम छोडी छोडी तिमी चर्च जान्छौ | यसरि त भएननि | कि तिमीले येशूलाई छोड कि काम छोड |'' उसले मलाई एकदम गालि पनि गर्यो | त्यसपछि म अन्योलमा परे | मेरो निम्ती यो दुविधाको विषय थियो | भर्खर भर्खर येशू पाएको छु | प्रभुलाई छोडौ कि कामलाई ? कामलाई छोडौ भने कति दुख गरेर बल्ल बल्ल यो काम पाएको छु , यहि काम द्वारा आफ्नो निम्ती लुगा किन्न सकेको छु | घरमा पनि धेरै थोरे साहयता गर्न सकेको छु | कसरि काम छोड्ने त ? काम छोडे भने म संग भेटि हाल्ने पैसा समेत हुदैन | त्यसपछि मलाई निर्णय लिन एकदम गाह्रो भयो | म प्रार्थना गर्न थाले | त्यसपछि मैले काम छोडे | अनि काम छोडेर म संगति जान थाले | तर भेटि हाल्न त पैसा चाहियो , पैसा नभएकोले मलाई एकदम गाह्रो भयो | त्यसपछी मंडलीको पाष्टर र बिश्वासिहरुसंग परमेश्वर बोल्नुभएछ र ऊहाहरु मिलेर मंडलीको भेटीबाट मलाई साहयता गर्नुभयो | साथै ऊहाहरुले मेरो निम्ती एउटा दोकान पनि खोलिदिनुभयो | अनि मैले दोकान गरे | दोकान चै फाटफुट दोकान थियों | प्रभुलाई धन्यबाद होस जस्तो सुक्कै भएतापनि मैले गनगन गरिन | प्रभुले मलाई जे दिनुभयो असल नै दिनुभयो | त्यो दोकान मैले गर्दै जादा बिक्री एकदम रार्मो हुदै गयो | गाह्रो त गाह्रो थियो कहिले धुलो कहिले पानि | तर के गर्नु घरको अवस्था यस्तै थियो मैले त्यो गर्नुपर्थ्यो | मैले दोकानमा काम गरेर आफ्नो निम्ती आवश्यक कुराहरु जुटाउन सक्थे, मेरो निम्ती नै हुन्थ्यो , मैले भेटि हाल्न सक्थे | यसरि दोकानमा काम गर्दै संगति पनि जाने गर्थे | शनिबार चै दोकान बन्द गरि संगति जान्थे | यस्तै क्रममा म १० दिन सम्म दोकानमा उपवास बसे | म दोकानमा बसेर सु-समाचार प्रचार गर्थे | यस्तै क्रममा एक दिन आत्माबाट यस्तो महसुस भएर आयो कि '' तैले प्रभुको काम गर्नुपर्छ " | भित्र हृदयमा पबित्र आत्मा मलाई '' परमेश्वरको राज्यको निम्ती तैले काम गर्ने पर्छ '' भन्ने आवज बारम्बार म सुन्न सक्थे | त्यसपछि म फेरी उपवास बस्न थाले | उपवास बसी सकेपछि मेरो निम्ती एउटा अवसर मैले प्राप्त गर्न सके | मंडलीको पाष्टरले मलाई १ वर्षको बाइबल स्कुल पढ्न जाने अवसर दिनुभयो | हामी लगभग २५,३० जना थिएउ तर परमेश्वरले मलाई चुन्नुभयो र मैले बाईबल स्कुल पढ्ने मौका पाए |

म बाईबल स्कुल पढे अनि ग्रजुएट हुने बेला पनि आयो | मैले घरमा बाबा आमालाई भनि सकेको थिए कि म बाईबल स्कुल पढ्दैछु अब म प्रभुको काम , सेवकाई गर्छु | तर मनमा एक प्रकारको चिन्ता थियो कि म यहाँ बाट फर्किएर फेरी त्यहि दोकान नै गर्नु पर्ने पो हो कि ? बाईबल स्कुल हुदा मैले धेरै अध्यान गर्थे | मन लगाएर धेरै अध्यान गर्थे | मैले ति दिनहरुमा धेरै बाईबल पढ्ने र प्रार्थना गर्ने गर्थे | किनकि म जान्दथे कि बिगत दिनहरु मेरा कस्ता थिए | तर प्रभुले मलाई यो अवस्था सम्म यसरि ल्याउनुभएको छ | पछी गएर प्रभुको काम गर्नुपर्छ भन्ने लाग्थ्यो त्यसैले मैले धेरै समय बाईबल अध्यान र प्रार्थनामा बिताए | ग्रेजुएट भई सकेपछी सेवाकईको निम्ती धेरैलाई मैले हात पनि जोडे " मलाई सेवकाई गर्ने मौका दिनुहोस् | " यो सत्य हो मैले यसरि नै सेवाकईको निम्ती बिन्ति गरे | कतिले मलाई भने बरु तिमी आफ्नै मंडलीमा फर्क, त्यहि नै केहि काम गर, हामी तिमीलाई भत्ता वा सहयोग स्वरुप ५०० महिना महिनामा उपलब्ध गरईदिन्छौ | यो कुरा मेरो हृदयले मान्दै मानेन | म महिनाको ५ सय रुपैया भत्ता खाएर बस्न चाहन्न, म प्रभुको काम गर्न चाहन्छु | अनि कतिले चै मेरो शारीरिक अवस्थालाई केन्द्रित गर्दै भाई प्रभुको काम गर्नु गाह्रो छ, येशूको क्रूश उठाई हिड्न गाह्रो छ | यसरि मलाई मेरो दुर्बल शरीरको कारण प्रभुको काम गर्न नसक्ने ठानियो | तर म बिचार गर्थे कि प्रभुको काम गर्न शरिर होइन हृदय चाहिन्छ जुन ममा थियो | भनौ भने के भनौ तर धरै प्रभुका जनहरुले मेरो शारीरिक अवस्था हेरेर बिचार गर्थे र धेरै निरासा पूर्ण कुराहरु गर्थे | उनीहरु पत्याउन सक्दैन थिए कि म पनि प्रभुको काम गर्न सक्छु भनेर |

सेवाकईको दौरान मैले सुरुमा झापा दामगमा सु-समाचार सुनाए | भन्दा अपत्यारिलो लाग्न सक्ला तर साचो यहि हो कि म यस्तो खुट्टा लिएर बिन हीलचियर ५ किलोमिटर सम्म हिडेर सु-समाचार सुनाए | झोलामा सु-समाचार पत्र पत्रीकाहरु हुन्थ्यो, एति आनन्द लाग्यो, मैले धेरै ठाउमा सु-समाचार सुनाउने मौका पाए |

बाईबल स्कुल पढ्दा बीचतिर सरहरुले भन्नु भयो अब हामी काठमाडौं जानुपर्छ | काठमाडौं पाटन चर्चमा ३ दिनको सेमिनार छ जानुपर्छ भन्नुभयो | मैले भने सर म जादिन, अरु विधार्थीहरु लिएर जानुहोस | सरले भन्नुभयो, तिमी जानुपर्छ, सबै जना जादै छन् यहाँ तिमी एक्लै हुन्छौ बरु हिड | मैले फेरी भने होइन सर म जादिन | बरु म यहाँ बाईबल अध्यान गर्दै बस्छु | मैले यो सब किन भने भन्दा, मेरो शरीरको कारण मलाई झापा देखि काठमाडौं आउन जान धेरै कठिनाई हुन्थ्यो | चर्पी जान नुहाउन जान समस्या हुन्थ्यो | इत्यादि धेरै समस्याहरु हुन्थ्यो त्यसैले म चाहन्न थे कि मेरो कारण अरुलाई समस्या होस् | म प्राय पानि पिउदिन किनभने मलाई धेरै चर्पी आउन जानमा समस्या हुन्थ्यो | मैले जान्न भनेर भने | तर एक जना सरले भन्नुभयो " होइन जानु पर्छ जानुहोस, प्रभुको बिशेष योजना छ, जानुपर्छ | " सरले त्यति भनि सकेपछी मलाई पनि यस्मा परमेश्वरको बिशेष योजना छ भन्ने लाग्यो | सायद कुनै योजना छ मेरो लागि नत्र किन सरले यति कर लगाउनुहुथ्यो र मलाई भन्ने लाग्यो | अनि त्यसपछि म काठमाडौं गए | हामी काठमाडौं गएर पनि लगभग एक डेढ महिना बस्येउ | मेरा साथीहरु २० जना जति थिए | हामि ललितपुरमा बस्येउ | तर त्यहाँ बाट हामीलाई पाटन चर्च आउन जान धेरै गाह्रो भयो | त्यहिको सरहरुले सल्लाह गर्नुभयो र " रोमान्सलाई चै आउन जान गाह्रो हुन्छ उसलाई यतै बस्ने व्यवस्ता मिलाउनु पर्छ | " भनेपछि मलाई पाटनमा बस्ने कोठा मिलाईयो | मेरा अरु साथिहरु चाहि आउने जाने गर्थे | पाटन चर्च त्यतिखेर ३ तलाको थियो | मलाईं सबै भन्दा माथिल्लो तलामा राखियो | सेमिनारको बिचमा खाजापानिहरु हुन्थ्यो | खाजा खानको निम्ती तलमाथि गर्नु पर्थ्यो | मेरो शरिर यस्तो भएको कारण मलाई यसरि तल माथि गर्न सजिलो कुरा थिएन | त्यहा थुप्रै विधार्थीहरु थिए | डाक्टर थोमस ह्वाङ्ग द्वारा अध्यापन भै रहेको थियो | मलाई चै चिन्ता चै यति ३ तलाबाट तल आउने खाजा खाने र फेरी माथि जाने | यो चै मेरो निम्ती चिन्ताको विषय थियो | किनकि मलाई एकदम गाह्रो हुन्थ्यो | अरु बाट सहयोग लिउ भने पनि कसरि लिउ , मलाई एकदम गाह्रो हुन्थ्यो | तर मलाई थाह थिएनकि यसमा पनि प्रभुको योजना छ भनेर | त्यसपछि मैले एक जना प्रभुको छोरीलाई भेटे, हाम्रो परिचय भयो | उनि ललितपुर लुभुको क्वाइनोनिया लुभु चर्चबाट आएकी थिइ | यो कुरा बि.स. २०६३ साल तिरको हो | उनले मलाई साहयता गरिन, मलाई बिहान बेलुका खाना ल्याईदिने, खाजा ल्याईदिने, मलाई धेरै साहयता गरिन | मेरो बाईबल चर्च सम्म ल्याईदिने अन्या धेरै कुरामा मलाई त्यस प्रभुको छोरीले साहयता पुर्याईन | अरुहरु यो देखेर छक्क पर्थे | हामीलाई हेर्थे, यिनीहरु दुई बिचमा कस्तो सम्बन्ध होला ? एउटा प्रभुको छोरीले अर्को प्रभुको छोरालाई यसरि साहयता गरिरहेका छन् | किनभने त्यहा थुप्रो मानिसहरु थिए तै पनि मलाई साहयता गर्ने उनि मात्र थिए | हाम्रो बिचमा खालि परमेश्वारको विषयमा कुराकानी हुन्थ्यो | सेमिनारमा हामीले सिक्दै गएउ | सेमिनार सकेपछि मैले उनलाई जयमसिह भनेर बिदा लिए, जाने बेला फोन नम्बर लिए | त्यति बेला व्यक्तिगत फोन अहिलेको जस्तो हुदैंन थियो त्यसैले, उनको घरको फोन नम्बर लिएर गए | तर मलाई के थाह पछी गएर उनि नै मेरो जीवन साथि हुन्छिन भनेर | मैले यो सब सोचेको थिइन तर उनि नै मेरो जीवन साथि हुन पुगिन | उनको नाम चै माया हो | त्यो सेमिनर सकेपछी म कोरियनहरु संग सेवकाई गर्न थाले | कोरियनहरुले मलाई नेपालगञ्ज पठाए | म नेपालगञ्ज गएर अगी साहयता गर्ने प्रभुको छोरी मायालाई फोन गरे जस्ले मलाई धेरै साहयता गरेकी थिइन | त्यति बेला उनको घरमा फोन थिएन, छिमेकीकोमा फोन गरे | फोन त उठायो तर उनलाई बोलाईदिएनन् | मैले त्यति खेर नै पहिलो पटक फोन गरेको थिए | तर हाम्रो त्यसबेला कुराकानी हुन सकेन |
म नेपालगञ्जमा प्रचारका भएर गएको थिए | मैले एउटा कोठा लिएको थिए | एकदमै गर्मि ठाउ थियो | म त्यहा एक्लै बस्थे | मलाई खाना पकाउन सारै दुख हुन्थ्यो | त्यसैले मैले बिहान र बेलुकाको खाना एक्कै चोटीमा पकाउथे | अनि सधै सु-समाचार प्रचार गर्ने गर्थे | म पर पर सम्म पुगेर प्रचार गर्थे, हिलचियर नभएको कारण हिड्न धेरै गाह्रो हुन्थ्यो तै पनि म प्रचार गर्न सधै जान्थे | मन्दिर मस्दिजहरुमा पुग्थे जहा मानिसहरुको भिड हुन्थ्यो | गर्मि ठाउ हो नेपालगञ्ज, म दिनभरी प्रचार गर्थे, फर्कने बेला पसिना पसिना हुन्थे | कोठामा फर्कन्थे अनि मलाई फेरी खाना पकाउनु र लुगा धुनु मेरो निम्ती गाह्रो पर्थ्यो | त्यसैले मैले सहायताको निम्ती एकदिन परमेश्वर संग यसरि प्रार्थना गरे " हे प्रभु म तपाईको काम त गर्न चाहन्छु, तर मलाई धेरै गार्हो भयो, हिलचियर पनि छेन | खाना आफ्फै पकाउ, लुगा आफ्फै धोउ, यो सब मेरो लागि एकदम गाह्रो भै रहेको छ प्रभू मलाई साहयता गर्नुहोस |" प्रभुले मेरो प्रार्थना सुन्नुभयो | मलाई फेरी कोरियनहरुले पोखरामा ल्याए | पोखरामा ल्याएर मलाई एउटा सटर दिईयो | पोखरामा आएर मैले त्यहाको घरहरु हेरे, बैंग,एयरपोर्ट,अन्या त्यहाका बातावरणहरु नियाले | यो सब देखेपछी मलाई के लाग्यो भने म याहा सेवकाई गर्न सक्दिन | यस्तो ठाउमा कसैले प्रभुलाई बिश्वास गर्दैन, म याहा एक महिना भन्दा बेसी टिक्न सक्दिन भन्ने लाग्यो | ३ दिन सम्म मैले आफु बस्ने सटर खोलिन | भित्रको भित्रै बसे, केहि गर्न मन लागेन | छिमेकीहरुले भन्थे कि सायद यो भाई बिरामी भयो होला | तर प्रभुलाई धन्यबाद होस्, मैले हिलचियर पाए र त्यसको १४ दिन पछि लेक साईट तिर सु-समचार प्रचार गरे | यसरि प्रचार गर्दा अपत्यारिलो प्रकारले प्रभुको काम भयो | मैले प्राचार गरेको एक हप्ता भित्र मंडली खडा भयो | मेरो सेवा संगतिको सुरुवात भनेको बालबच्चा बाट भएको थियो | यसरि सेवकाई गर्दै समयहरु बित्दै थियो | एक्लै भएकोले म खाना पकाउने,लुगा धुने जस्ता सम्पूर्ण कामहरु आफ्फैले गर्नु पर्थ्यो | छिमेकीहरुले यो देखेर मलाई भन्थे कि भाई तपाईले विबाह गर्नु, तपाई एक्लै हुदा तपाईलाई गाह्रो हुन्छ | मेरो सहयोगी भन्ने बित्तिकै मलाई त्यहि पाटनमा साहयता गर्ने प्रभुको छोरीको सम्झना आयो | उसले मलाई गरेको सहयोग र साहयता सच्चाई स्मरण योग्यको थियो | त्यसपछि मैले सम्पर्क गर्ने कोसिस गरे | अचम्म तरिकाले फोनमा कुराकानी हुन् सक्यो | हामी दूई बिच कुराकानि नभएको डेढ वर्ष जति भएको थियो | त्यसपछि हामी दूई बिच लामो समय सम्म कुराकानी हुदै जादा एक दिन मैले नै उसलाई भने कि " हृदयबाट यो कुरा आयो कि के तिमी म संग बिवाह गर्छौ ?" उसले नाई भनिन | उनले भनिन कि मेरो परिवार संग सल्लाह माग्छु, अनुमति लिन्छु | यसरि मैले विवाहको प्रास्ताब राखे, कारण मलाई साहयताको जरुरि थियो | त्यसपछि म सेवाकईमा व्यस्था हुन थाले | तै पनि हामी दूई बिचको कुराकानि पनि चल्दै थियो | यसरि समय बितिरहेको थियो |

२०६५ सालको पुस महिना थियो ,एक दिन जब म अन्या भाषामा प्रार्थना गर्दै थिए, आत्मा बाट मलाई एउटा अगमवाणी आयो | त्यो अगमवाणी चै " छोरा तिम्रो विबाह फागुनमा हुन्छ |" जबकि उता केटीको बाबा आमा कसैलाई थाहा छैन | केटा को हो ? कस्तो छ, के गर्छ केहि थाहा छैन | मैले पाएको यस अगमवाणीको कुरा मैले फोन गरेर उसलाई बताए | मैले भने कि हाम्रो विबाह फागुनमा हुन्छ भन्ने अगमवाणी पाएको छु, के तिमी यसमा बिश्वारस गर्छौ ? उसले भनिन् बिश्वास गर्छु | उनले पनि यस विषयमा प्रार्थना गर्न थालिन र मैले पनि प्रार्थना गर्न थाले |

यता म सेवाकई गर्दै आनन्दित थिए औ व्यस्त व्यस्त पनि | घरमा बाबा आमा संग फोन सम्पर्क भइरहेको थियो | मेरो जीवनमा अचम्मको परिवर्तन भयो | मैले मेरो हुनेवाला श्रीमतीलाई फोन गरेर भने " म तिमीलाई माग्न आउछु |" अनि मैले मेरो पूर्वको पाष्टर बुबाहरुलाई पनि भने | हामी यसरि उनलाई माग्न गएउ | अचम्मको कुरो यहा के थियो भने म केटि माग्न जादै थिए तर कुनै तयारि मेरो थिएन | म कोरियनहरु संग काम गर्थे, त्यस बखत मलाई पैसाको सारै अभाब भएको थियो | काठमाण्डौ आउने जाने भाडा मेरो मंडलीका बिश्वासिहरुले दिएको थियो | अहिले बिचार गर्छु अचम्म लाग्छ | मलाई त्यस बखत यति पनि बुद्दी आएनाकी केटि माग्न जाद यति कुरा आफ्फैले जुटाउनु पर्छ औ चलन चल्ति अनुसारको सामाग्रीहरु केटि माग्न जाद मैले यता बाट लैजानु पर्छ | चर्चमा मैले यति मात्र भने कि म विबाह गर्न जादै छु | आउदा पाष्टरनि आमालाई लिएर आउछु | तर मेरो कुनै तयारि भने थिएँन | हामी काठमाडौं गएर होटलमा बस्येउ | त्यहा पुगेर मैले मेरो हुनेवाला श्रीमतीलाई फोन गरे भने कि " म तिमीलाई माग्न आउदैछु | अनि आट गरेर श्रीमतीको बाबु-आमालाई फोन गरेर माग्न आउदैछु भनेर भने | एउटा अचम्म लाग्दो कुरा के छ भने म यस्तो अपांग छु भन्ने कुरा हुनेवाला सासु-ससुरालाई थाई थिएन | तर पछी मैले सफा संग उहाहरुलाई बताईदिएकि म शारीरिक रुपममा यस्तो छु भनेर | तर म प्रभुलाई धन्यबाद दिन्छु कि उहाहरुले मेरो कुरा सुनेर त्यस्तो केहि अफ्ठ्यारो मान्नुभएन | र मलाई आउनुहोस भन्नुभयो | त्यसपछि हामी गएम | चर्चमा हाम्रो कुराकानी भयो | लगभग एक हप्ता जस्तै लाग्यो निष्कर्ष निस्कन | किनकि यो सजिलो कुरा थिएन | बिशेस त मेरो श्रीमतीको निम्ती ठुलो चुनौती थियो | समाजले भन्थे कि यस्तो केटा संग गएर कसरि जिबिका चल्छ ? कसरि जिन्दगि चल्छ ? केटाको न पढाई छ , शरीरमा यस्तो छ , न जागिर छ ? कसरि पाल्छ ? हुन पनि समाजको कुरा ठिकै हुन् | मेरो श्रीमती राम्रो परिवारबाट थिई | घर थियो, गरि खाने जग्गा जमिन थियो | मुख्या कुरा स्वस्था र सुन्दर शरीर थियो | उसले राम्रो केटा पाउन सक्थ्यो | खोट म मा थियो उसमा थिएन | यसरि छलफल र अनुगमन लामो भएतापनि राम्रो भयो | मेरो जेठान, सासु-ससुरा अत्यान्तै असल हुनुहुन्थ्यो | अन्तमा विवाहको लागि मन्जुरी मिल्यो | त्यसपछि श्रीमतीको पाष्टर मेरो तर्फका पाष्टरहरु, आत्मिक दाज्युहरु सबै मिलेर मेरो विवाहको तयारी भयो | म बिना तयारिमा आएको थिए | मेरो यति पनि बुद्दी आएन कि विबाह गर्ने भएपछी पैसा,लत्ताकपडा सबै आफ्फैले जोड्नु पर्छ भनेर तर प्रभुलाई धन्यबाद भएको होस् कि मेरो विवाहको लागि मेरो पाष्टर, काठमाडौंका आत्मिक दाज्युहरुले सबै मिलाउनु भयो | लुगा, कपडा, यता, उता सब थोकको बन्दोबस्त मिलाउनुभयो | म कस्तो मान्छे | यो सब मैले मिलाउनु पर्थ्यो | तर जे होस् सबै कुरा राम्रो भयो | हाम्रो विबाह साधारण भयो तर धेरै आशिषमय भयो | यसरि अचम्म रितिले पाटन चर्चको झुण्ड लोगो चर्चमा समाज, पाष्टर र मंडलीका बिश्वासिहरुको अघि हाम्रो पवित्र विबाह भयो |

विबाह भै सकेपछी मलाई अचम्म लाग्थ्यो कि मेरो पनि विबाह भयो | मेरो विबाह हुनु भन्दा एक दिन अघि मैले बाबा-आमालाई फोन गरेर मेरो भोलि विबाह हुदैछ भनेर भन्दा उहाहरुले पत्ताउनु भएन | किनभने म शरीरमा यस्तो थिए | यो कुरा मेरो बहिनि, साथि भाई कसैले पत्ताएन | अचम्मको कुरा के छ भने जस्तो मैले अगमबाणी पाएको थिए सोहि बमोजिम मेरो विबाह फाल्गुनमा नै भयो | हो मेरो विबाह फाल्गुन १६ गते भयो | विबाह पछी मैले श्रीमतीलाई मेरो घर झापामा लिएर गए | जो जो ले मेरो बारेमा नकारात्मक कुराहरु गर्थे सबैको कुरो उल्टो भयो | ज्योतिषीले भनेको थियो कि तिम्रोमा साढे सात ग्रह छ | तर अहिले साढे सात ग्रह थिएन बरु परमेश्वरको अनुग्रह चै म मा छ | विवाहको योग छैन भनेको थियो त्यो कुरा पनि उल्टो भयो | मागेर खानुपर्छ पनि भनेको थियो तर मैले आजको दिन सम्म मागेर खानु परेको छैन | प्रभुले मेरो छाक टार्नुभएको छ | मैले श्रेमति लिएर गाउमा जाद सब छक परे | मेरो बिरुद्द कुरा गर्नेहरु सबैको मुखमा ताला लागेको थियो | मेरो बाबा-आमाले बल्ल पत्ताउनु भयो | सुन्दर बुहारी देखेर घरकाहरु छक्क परे | तर कुरा काट्नेले जसै गरेपनि कुरा काट्छन भनेझै गाउकाहरुले फेरी भन्न थाले " धेरैमा एक वर्ष सम्म बस्छे त्यसपछि पोईला जान्छे |" भनेर धेरै नकारात्मक कुराहरु गर्न थाले | म कोरियनहरु संग काम गर्थे उनीहरुले मलाई विबाह नगर्नु भनेर भनेका थिए | तर मेरो विबाह भएको कुरा थाह पाएपछि कोरियन मिसनले हामी संग काम नगर भनेर भन्यो | उनीहरु संग काम गर्दा मैले जति सामन जोडेको थिए ति सबै सामानहरु कोरियानाहरुले फिर्ता माग्यो | तिनीहरु कस्तोखाले कोरियनहरु थिए मलाई थाहा भएन तर सबै कुरा उनीहरुले फिर्ता माग्यो | अरु त सबै ठिक छ कि उनीहरुले म बस्ने हुईल चियर समेत फिर्ता लगे | म कोरियान मिसनको सपोर्टमा चलिरहेको थिए | एक्कैचोटी कोरियनले आफ्नोसपोर्ट छोड्दा मलाई गाह्रो भयो | जुन घर मैले लिएको थिए त्यसलाई छोडेर मैले एउटा कुखुराको खोरमा सेवकाई सुरु गर्नु पर्यो | काठमाडौंका आत्मिक दाज्युले मलाई ति दिनहरुमा साहयता गर्नुभयो | भर्खर हाम्रो विबाह भएको १६ दिन मात्र भएको थियो | भर्खरै विबाह भएको जोडीको दिनचार्य एउटा कुखुराको खोरमा बित्नु भनेको सानो दु:खको कुरा चै होइन | मेरो श्रीमतीको मनमा के गुज्रियो होला ? | कति ईच्छ्या र चाहनाहरु थिए होलान तर वास्तविकताले कुखुराको खोरमा ल्याईपुर्यईदियो | यो कुखुराको खोरमा मैले एक वर्ष सम्म समय बिताए | म संग रुपियाँ पैसा, खानेकुरा र भाडाकुडा केहि पनि थिएन | कुखुराको खोरमा जादा शनिबार सेवा परेको थियो | बिश्वासिहरु आउदा घरबाट बोराहारू लिएर आए किनकि कुखुराको खोरमा ओछ्याउन हामी संग लुगा समेत थिएन | यसरि बोराहरु ओछ्याएर हामी त्यो दिन संगति बसेउ | एक दम अदभुत र आशिषमय सेवा भयो त्यो दिन | बिरामीहरु निको भए , भुत आत्माहरु निस्केर गए | एकदम अचम्मको काम हुन थाल्यो | पछी कोरियनहरुले मलाई आउनुहोस हाम्रोमा सेवकाई गर्नुहोस भनेर भने तर म गईन | हामी संग लुगाहरु , खानेकुराहरु हुदैन थियो तर मेरो आफ्नो मंडलीका भेडाहरुले मिलेर हामीलाई साहयता गर्नुहुन्थ्यो | हाम्रो अवस्था यस्तो सम्म भयो कि हामीले पालो पालो गरि बिश्वासिहरुको घरमा खाना खने गर्थेउ | हामी यस्तो अवस्था देखि पनि गुज्रीएउ कि एक पटक बनाएको खानालाई तिन दिन सम्म बचाई बचाई राखेर खाने गर्थेउ | बासि हुन्थ्यो तै पनि त्यसलाई प्याज आदि संग मोलेर खान्थेम | धेरै नाजुक अवस्था र अभाबको कारण मैले विवाहमा लगाएको सुनको औठी पनि बेच्नु पर्यो | श्रीमतीको कानमा लगाएको बेच्नुपर्यो | धेरै गाह्रो अवस्थाहरु आयो | यसरि संघर्ष गर्दा गर्दा परमेश्वरले मलाई बिस्तारै उठाउन थाल्नुभयो | अनि कुखुराको खोरबाट एउटा राम्रो ठाउँमा लानुभयो | यसरि सेवकाई गर्दै जादा काठमाडौं बाट मेरो आत्मिकी दाज्युहरुले मलाई साहयता गर्न थाल्नुभयो | साथमा मेरो आफ्नो मंडलीको भेडाहरुले पनि धेरै साहयता गर्न थाल्नुभयो | प्रभुलाई म धन्यबाद दिन्छु कि अहिले म कोरियन मिसन संग नभएतापनि बलियो तरिकाले म सेवाकाइ गरिरहेको छु | यसरि प्रभुले मलाई मेरो दु:खको घडी देखि बाहिरा ल्याउनु भयो | मेरो श्रीमतीले मलाई हील्चियारमा राखेर डोर्याउने गर्थीन र म चै सु-समाचार सुनाउथे | देख्नेहरु छक्क पर्थे | कस्तो अदभुत जोडी | मेरो छोरा जन्मनु भन्दा दूइ हप्ता अघि सम्म मेरो श्रीमतीले मलाई हुईल चियरमा ठेलेर सु-समाचार सुनाउन साहयता गर्थिन | मलाई हरेक सेवा संगतिमा साहयता गर्थिन | सबै छक्क पर्थे | पछी मेरो श्रीमतीबाट हाम्रो सन्तान छोरा भयो | जन्मदा ४ केजीको हिस्ट पुष्ट स्वास्थ्य जन्मिएको थियो | छोरालाई काखमा लिदा गर्ब लागेको थियो | भोलिपल्ट मेरो छोराको आखा अचानक पहेलो भयो | अनि छरछिमेकीले नकारात्मक कुरा गर्न थाले | यसलाई जन्टिस भएको छ | त्यसपछि हामीले छारछिमेको कुरा सुन्न छोडेर प्रार्थना गर्र्न थाल्येउ | येशूको नाममा जन्टिस हुन् पाउने छैन भनेर हामीले प्रार्थना गरेउ | त्यसपछि मेरो छोरालाई त्यस्तो केहि भएन | त्यसको केहि समय पछी हामी गाउ गएउ | अनि गाउ जादा साथमा छोरा पनि देखेर सबै छक्क परे | हिजो १ वर्षमा तेरो बुढी पोइला जान्छ भन्नेहरु सबैको मुखमा ताला लागेको थियो | अहिले मेरो छोरा ६ वर्षको भै सक्यो | अहिले 1 मा पढ्दै छ | मैले उ बेला पढ्न सकिन तर म छोरालाई पढाउँन चाहन्छु त्यसैले राम्रो स्कुलमा हालेको छु | अहिले हामी कुनै मिसन वा सस्था संग छैनौ | हामी अहिले पनि बुढा बुढी संगै हुईल चियर बाट सु-समाचार सुनाउन टाढा टाढा सम्म पुग्छौ | मेरो श्रीमतीले मलाई सु-समाचार सुनाउन हुईल चियरमा ठेलेर एक ठाउबाट अर्को ठाउमा पुर्याउन साहयता गर्छिन् | यसरि हामी सेवकाई गर्दैछौ | हामीलाई प्रार्थनामा सम्झीनुहोस | हामी अहिले पोखरामा सेवकाई गर्दैछौ | मेरो पहिलो सपोर्ट येशू हुनुहुन्छ, दोस्रो सपोर्ट मेरो श्रीमती र तेस्रो सपोर्ट मेरो मंडलीका भेडाहरु | मेरो गुजरा चै यसरि चलिरहेको छ | मेरो मंडलीका भेडाहरुले मिलेर मलाई साहयता गर्नुहुन्छ | कहिलेकाही बाहिरा बिभिन्न ठाउहरुबाट मलाई बचन प्रचारको निम्ती बोलाउनु हुन्छ | अनि केहि गिफ्ट, सहयोग गर्नुहुन्छ | कसैले केहि उपहारहरु पनि दिनुहुन्छ | यसरि नै मेरो गुजारा चल्लिरहेको हुन्छ | भनौ भने बिश्वासको आधरमा मेरो गुजारा चलिरहेको छ अझै पनि |

बिगतमा म धेरै ठाउँमा सु-समाचार प्राचारमा गए | हुईल चियर बिना नै म सु-समाचार प्रचार गर्थे | कति गाह्रो हुन्थ्यो | म ४ हात खुट्टा टेकेर हिड्दा कुकुरहरु पछी लाग्थ्यो ' मलाई टोक्न आउथे | तर मैले हार मानिन | मैले गनगन गरिन | म निरन्तर प्रभुको काममा लागिरहे | र मैले निश्चित दर्शन पाए , त्यो मेरो बोलावाट थियो | प्रभुले मलाई पाष्टरिया सेवा गर्न बोलाउनु भयो | यसमा म दोधार छुईन यो मैले प्राप्त गरेको निश्चित दर्शन थियो | अहिले म पोखरामा पाष्टरिया सेवाकाई गर्दैछु | मेरो विबाह भएको ९ वर्ष भयो मेरो श्रीमतीको पुरा साथ छ | मैले सोचेको थिईन मेरो बिबाह हुन्छ भनेर तर मेरो विबाह भयो | मैले सोचेको थिईन कि म जीवनमा केहि गर्न सक्छु कि भनेर तर अहिले म प्रभुको काम गरिरहेको छु | मेरो जीवनमा परमेश्वरले अदभुत तरिकाले काम गर्नुभयो | मेरो बाबा-आमालाई मैले सु-समाचार प्रचार गर्नु परेन कारण मेरो जिन्दगी आफ्फैमा एउटा सु-समाचार थियो त्यसैले मेरो बाबा-आमाले येशूलाई बिश्वास गर्नुभयो | परमेश्वरले मेरो कम्जोर अवस्थामा मलाई उठाउनुभयो | अहिले मेरो शारीरिक अवस्थामा पनि धेरै सुधार आएको छ | मैले अहिले चप्पल लगाउन जानेको छु | बाईकमा चढ्न जानेको छु | प्लेनमा चढ्न जानेको छु | म पहिला त्यति राम्रो संग बोल्न जान्दिन थे | अहिले प्रभुले मलाई बोल्नमा सिपालु बनाउनु भएको छ | बिगतमा जति पनि प्रभुका जनहरुले मेरो शरिरलाई नियालेर तिमीले सेवकाई गर्न सक्दैनौ भनेर भनेका थिए तिनीहरु सबैको कुराहरु उल्टो भए, कारण प्रभुले मलाई उहाको काम गर्ने अवासार दिनुभयो | मान्छेले शरीर,दक्षता,योग्यता सबैकुरा हेरेर अवासर दिन्छन, तर परमेश्वरले म मा ति कुनै पनि थोक खोज्नुभएन | म हृदय देखि उहाको काम गर्न तयार मात्र थिए, यति नै काफी भयो | अहिले हामी श्रीमान् श्रीमती मिलेर दिलो ज्यानले प्रभुको काम गरिरहेका छौ | प्रभुलाई धन्यबाद छ कि बिगतका ति दु:खका दिनहरुमा पनि परमेश्वरले मलाई एक्लो कहिले छोड्नु भएन | मेरो श्रीमतीले पनि ति दु: खको दिनहरुमा कहिले गनगन गरिनन् | मेरो मंडलीका भाईहरुले पनि कहिले गनगन गरेनन् | प्रभुलाई धेरै धन्यबाद दिन चाहन्छु कि उहाले म जस्तो कम्जोर व्यक्तिलाई उहाको काम गर्नको निम्ती चुन्नुभयो | यदि मैले परमेश्वरलाई नपाएको भए, मेरो समाजले भनेको झैँ म जीवन निर्वाहको निम्ती कुनै एउटा कुनामा बसेर मागिरहेको हुन्थे होला | कि म आत्मा हत्या गरिसकेको हुन्थे होला | तर परमेश्वरबाट मैले अचम्मको प्रेम र कृपा पाए | उहाले मलाई धुलोबाट उठाउनुभयो | र बेकामको भएतापनि काम लाग्ने तुल्याउनुभयो | कारण म एक अपांग थिए तर प्रभुको नजरमा त होईन | " म अपांग भएकोले नै समाजले मलाई हेपाह दृष्टिकोणले हेर्थे र भन्थे कि ' तिमीले मागेर नै खानुपर्छ , किनकि न तिम्रो गला छ न कला नै छ | तर मेरो जीवनमा परमेश्वरको योजना अलग थियो | " म निर्बललाई छान्नुको पछी परमेश्वरको बिशेस योजना थियो | जस्तो लेखिएको छ [ बूदिमान र शक्तिशालीहरुलाई शर्ममा पार्नलाई परमेश्वरले संसारको मुर्ख र निर्बल कुराहरुलाई छान्नुभयो ] (१ कोरिन्थी १ : २७) मेरो कारण कोहि शर्ममा परोस भन्ने अभिप्राय म राख्दिन तर ज-जसले मेरो विषयमा मलाईं खसाल्ने हिसाबले मेरो विबाह हुदैन, धन प्राप्ति छैन, केहि गर्न सक्दैनस, आत्मा हत्या गरे बेस हुन्छ, रुमाल बाटोमा फिजाएर बसे जसले पनि पैसा दिन्छ ईत्यादी हेपाह र गिराउने अभिप्राय राख्ने सल्लाह दिने सबैलाई मैले भेटे | उनिहरुले मेरो छोरा र मेरो श्रीमतीलाई म संग देख्दा छक परे | मुखमा ताला लाग्यो, शर्मले बोल्ने कुनै ठाउ रहेन | किनकि मेरो जीवनमा भएको एका एक परिवर्तनको कारण मेरो भविष्य प्रति उनीहरुले गरेको अनुमान र अडकल अनुसारको कुनै पनि कुरा मेल खाएन | जब कसैलाई परमेश्वरले उठाउन चाहनुभयो भने, त्यो व्यक्तिलाई खसाल्न संसारै उल्टेर आएतापनि परमेश्वरले त्यसलाई उचित र ठिक समयमा उठाउनुहुनेछ | मेरो जीवनमा यस्तै भयो | म आज यस जीवन गवाही द्वारा तपाईलाई हौसला दिन चाहन्छु | मलाई जस्तै तपाईलाई पनि परमेश्वरले कुनै न कुनै ठाउमा चलाउन चाहनुहुन्छ | परमेश्वरमा भरोसा राख्नुहोस उहाले तपाईलाई कहिले पनि शर्ममा पर्न दिनुहुनेछैन | ठिक समयमा परमेश्वरले उठाउनुहुन्छ | कहिले निराश नहुनुहोस, येशू नपाउदा मलाई सिकाउने कोहि थिएन त्यसकारण मैले धेरै समय निराशमा बिताए | तर हामी संग आज येशू ख्रीष्ट आसा बनेर हाम्रो माझमा खडा हुनुहुन्छ | बिगत दिनहरुमा मैले धेरै दु:ख र कष्टमा दिनहरु बिताए, मैले अहिले आएर उहालाई चिन्ने मौका पाए तर उहाले त मलाई आमाको गर्ब देखि नै पो चुन्नुभएको रहेछ | यी कुराहरु बुझेर ल्यादा सारै आनन्द लागेर आउछ | हामी बोलाईएकाहरु होईनौ तर चुनिएकाहरु हौ | परमेश्वरले हामीलाई पबित्र-आतामाको छापा लगार संसार देखि अलग गराउनुभएको छ, त्यसैले हामी धन्यका हौ जो चुनाबमा परेका छौ | त्यसैले हामी हर्ष मनाओ र उत्साहित हौ | हामीलाई आसा दिईएको छ | त्यसैले हामी कुनै आसा नभएकाहरु जस्तो निराश भएर नबसौ [यर्मिया २९:११] अनुसार हाम्रो लागि परमेश्वरले बिशेष योजना बनाउनुभएको छ | त्यसैले उत्साहित हुनुहोस भनेर यो गवाही द्वारा तपाईहरु सबैलाई म उत्साह दीन चाहन्छु |

येशूमा परिवर्तन छ , त्यो भन्दा महत्वपूर्ण अनन्त जीवन छ | म अहिले गाउ जादा कसैले पनि मलाई किन येशूलाई बिश्वास गरेको भनेर भन्न सक्दैनन | किनकि उनीहरु सबैले मेरो जीवन देखेर यो जानेको छ कि येशूले रोमान्सको जीवनमा यो अदभुत काम गर्नुभएको छ | सबै मेरो जीवनको परिवर्तन देखेर छक खान्छन | मैले कहिले धर्म परिवर्तन गरिन मात्र मलाई परिवर्तन गर्नुनुहुनेको खातिर जीउने तरिका परिवर्तन गरे | मेरो जीवनमा धेरै कुराहरु परिवर्तन भएतानी कुनै कुराहरु अझ त्यस्तै छन् | तर म खुशी छु र प्रभुमा ज्यादै धन्यबादी छु | हो म तपाई जस्तै सरल प्रकारले हिड्न सक्दिन तर मलाई यस्तो लाग्छ कि म अपांग छुईन म हिड्न सक्छु | हो म शरीरमा अशक्त र कम्जोर छु तर मलाई यस्तो लाग्छ कि प्रभुमा बलियो छु र जे पनि गर्न सक्छु | हो म आर्थिक रुपमा धनि छुईन तर मलाई यस्तो लाग्छ कि प्रभुमा म अत्यान्तै धनि छु | प्रभुले मलाई जुटाईरख्नु भएकै छ | मान्छेले मलाई सुईकार नगरेको भएतापनि परमेश्वरले मलाई सुईकार गर्नुभयो | यसमा मेरो कुनै योग्यता थिएँन थियो त केवल परमेश्वरको अनुग्रह र कृपा | परमेश्वरलाई पाउन अघि म कुनै मोलको थिइन , कसैले मलाई गन्दैन थिए तर अहिले मलाई सबैले आदर गर्छन र मेरो सम्मान गर्छन | के म यो सम्मानको योग्याको भएर हो त ? अवश्य होईन ! यसमा पनि परमेश्वरको अनुग्रह छ | बिगत दिनहरुमा मलाई देख्नेहरु र मलाई भेट्नेहरुले म द्वारा केवल निरासा पाउथ्यो | कारण मेरो जीवन नै त्यस्तै थियो | कतिले साथीहरुले भन्थे कि रोमान्सलाई नभेटु यार सारै दु:खमा छ | तर अहिले येशूलाई पाएपछि मेरो जीवनमा शान्ति छ र म यो शान्ति अरुलाई पनि बाडीहाल्छु | अहिले म सबैलाई मेरो जीवन बाट उत्साह दिन्छु | अहिले मलाई भेट्नेहरु उत्साहित हुन्छन किनकि म संग उत्साह छ र त्यसलाई म बाडचुट गरिहाल्छु | अहिले म पोखरामा सेवकाई गरिरहेको छु | १२ वर्ष भै सकेकको छ | प्रभुको काम गर्दैछु | मलाई प्रभूको काम गर्न अत्यान्दै आनन्द लाग्छ | हामी श्रीमान श्रीमती दुबै जना पुरा समय सेवकाईको निम्ती दिइरहेका छौ | मैले सोच्दै नसोचेको कुराहरु मैले मेरो जीवनमा प्राप्त गरे | यो प्रभुको अनुग्रह थियो | परमेश्वरलाई धेरै धेरै धन्यबाद भन्दछु |

अन्ततः म यहि भन्न चाहन्छु कि दु:ख सबैको जीवनमा आउछ तर ती दु:खहरु हामीलाई खार्नको निम्ती हो | जब हामी दु:खको घडीमा स्थिर रहन्छौ तब हामी खारिदै जान्छौ र झन असल भाडो बन्न तयार हुन्छौ | हामी एकले अर्कोलाई उत्साह दिदै जाउ कारण हाम्रो एक उत्साहले समेत कसिको जीवन बदल्ने सामर्थ राख्दछ | किनकि हामी संग भएको उत्साह हाम्रो आफ्नो होइन तर केवाल हाम्रो परमेश्वर बाटको हो | मेरो यस गवाही द्वारा धेरैले सु-समाचार, उत्साह र आशिष पाउन सकेको होस् भन्ने हेतुले बाड्ने जमर्को गरे | अझ म संग बातचित वा कुराकानी गर्न चाहनुहुन्छ वा अझ मेरो विषयमा जान्न चाहनुहुन्छ | भने मलाई फेसबुकमा भेट्न सक्नुहुन्छ : रोमान्स थपलिया | Viber Number : 9806541862 | तपाई निरन्तर म संग बातचित गर्न सक्नुहुन्छ | यो मेरो जीवन गवाही धेरको निम्ती आत्मीक दबाई र हौसला र उत्साह भएको छ भन्ने बिश्वास गर्दछु | यस लेखलाई अध्यान गर्नुभएको निम्ती तपाईहरु सबैलाई धेरै धन्याबाद टक्राउन चाहन्छु | साथमा अझ धेरैको निम्ती यो गवाहिले उत्साह पुगोस भन्ने म चाहन्छु त्यसैले यस जीवन गवाहीलाई सक्दो share  गरि अझ धेरैको माझमा पुर्याउन सहायोग गरिदिनहुन अनुरोध गर्दछु | तपाईलाई परमेश्वरले धेरै धेरै आशिष दिनुभएको होस् | आमेन | जयमसिह !!!
Written by : Prashanna Tamang


साभार ः नयाँ अाशा.कम

धन्य नेपाली ख्रीष्टीयान विश्वासी!

धन्य नेपाली ख्रीष्टीयान विश्वासी! तिमी कति उदार, कति आत्मिक, कति ज्ञानी, कति सहनसील, कति निश्छल। तिमीले येशूलाई विश्वास गर्दा कति दुःख, कष...