२०५८ सालमा मैले येशू ख्रीष्टलाई विश्वास गरेको हुँ । मलाई कसैले धर्म परिवर्तन गराएको होइन तर येशूसँग जम्काभेट भएपछि उहाँलाई विश्वास गर्न पाउँदा म अहिले ज्यादै खुसी छु । जब म ग्रैह इसाई थिएँ, त्यतिबेला पनि धेरै चुनौतिहरु थिए र अहिले पनि धेरै चुनौतिहरु छन् तर त्यतिबेला ति चुनौति र समस्याहरुले मलाई असाध्यै अशान्तिमा पारेको थियो । अहिले पनि मसँग त्यतिकै चुनौतिहरु छन् तर ति चुनौतिहरुको सामना गर्न मैले शान्ति पाएको छु । त्यस समय आफ्नो दुःख बिसाउने ठाउँ थिएन, मेरो पिर मर्का र समस्याहरु सुनिदिने र सही सल्लाह दिने कोही थिएन तर मलाई हकार्ने, गाली गर्ने र निराश बनाउने मानिसहरु मात्र मेरा वरिपरी थिए ।
मैले त्यसबेला कुनै असल कुरा भेटेको थिइनँ । त्यो असल कुरा मैले मेरा बाबु आमा, दाजुभाई तथा आफन्तहरु र साथीहरु कसैसँग पनि भेटिनँ । त्यो समय सम्झदा मलाई अहिले पनि कहाली लागेर आउँछ ! मेरो संसार यति स्वार्थी र मतलबी थियो कि मेरो कुरा राम्ररी सुनिदिने मानिस समेत मैले पाउन सकेको थिइनँ । मेरो निम्ति कुनै आशा थिएन । मेरो स्वास्थ्यको मलाई आशा थिएन, मेरो बाबु आमाको मलाई कुनै आशा थिएन किनकि म उहाँहरुको बुढेसकालमा जन्मिएको आमापट्टिबाट साहिलो र बुबापट्टिबाट छैटौं छोरा थिएँ । उहाँहरुले मेरो निम्ति केही पनि गर्न सक्नुहुन्न भन्ने कुरा मलाई राम्ररी थाहा थियो । मलाई मेरो पढाईको पनि आशा थिएन किनकि मेरो डिप्रेसनको छायाँमा मेरो पढाई बिग्रिएको थियो । मलाई मेरो सिपको पनि आशा थिएन किनकि निराशाको चरम समस्याले कुनै पनि सिप सिक्नको लागि म अयोग्य भएको थिए । मलाई मेरो बलको पनि आशा थिएन, जवान अवस्थामा नै मेरो बल घटिरहेको छ भनेर मैले थाहा पाएको थिए । मेरा दाजुभाईहरुको पनि मलाई कुनै आशा थिएन किनकि एउटा विकट गाउँका दाजुभाई जोहरुको कुनै राम्रो आम्दानी थिएन । मलाई कुनै जागिरको पनि आशा थिएन किनकि कुनै पनि जागिर खानको लागि म अयोग्य छु भनेर मेरो मनमा एउटा डरलाग्दो शत्रु बसेको थियो ।
मेरो बाबु आमाको निम्ति केही राम्रो काम गर्छ, वा पैसा कमाएर सुख दिन्छु भन्ने मेरो इच्छा थियो । तर ममा भएको निराशाको धमिराले ति सबै चाहनाहरुलाई खाइरहेको थियो । मेरा जीवनमा कुनै सुधार आउन सकेको थिएन । नता मेरो शारीरिक स्वास्थ्यमा कुनै सुधार आयो, न मानसिक स्वास्थ्यमा । यी दुबै स्वास्थ्य बिगैँदै जाँदा मेरो अवस्था त झनै डरलाग्दो हुन गयो । यहाँसम्मको भाँडा माझ्ने काम गर्नको निम्ति पनि म अयोग्य भएछु ।
केहीसिप नलागेपनि एउटा साथीको कोठमा शरण लिन पुगें । त्यसबेला ममा कान पाक्ने रोग थियो । रोगले मलाई झनै दुःख दिन थाल्यो । राती सुतेको बेलामा कहिले डरलाग्दो साँप आएर मलाई सपनामा बेस्सरी लखेट्थ्यो भने कहिले डरलाग्दो बाघ आएर मलाई लखेट्थ्यो । म आत्तिएर बिऊझन्थे । मेरो शरीरमा रोग थियो उपचार गर्ने पैसा थिएन । यसकारण मलाई यो संसारमा बाँच्ने कुनै चाहना भएन तर कसरी मर्न सकिन्छ होला भनेर म विचार गर्न थालें । अबको केही दिनमा आत्महत्या गर्नुपर्ला तर कस्तो प्रकारले आत्महत्या गर्ने त भनी म त्यसबोरमा बुझ्न थाले । आत्महत्या गरेका न्युजहरु पढ्न थाले र सजिलो प्रकारले मर्ने उपाए खोज्न थालेको बेलामा अचानक एकजना प्रचारकले येशूको बारेमा बताउँदाखेरी मैले उहाँलाई विश्वास गरेको हुँ ।
जब मैले येशूलाई विश्वास गरें तब ममा अचानक खुसीहरु फर्किएर आए । म हास्न सक्ने भएँ । ममा बाँच्ने रहर पलाएर आयो । अब त म पनि केही गर्न सक्छु भन्ने एउटा जोस जीवित भएर आयो । आत्महत्या गर्ने विचारलाई मैले त्यागें । यसैकारण म अहिलेसम्म जीवित छु र तपाईंहरुलाई मैले यो साक्षी दिएको हुँ । कसैले मेरो धर्म परिवर्तन गराएको होइन अथवा मैले कुनै धर्म परिवर्तन गरेको होइन तर मेरो जीवन मृत्युबाट जीवनमा सरेको मात्र हो, अन्धकारबाट ज्योतिमा सरेको मात्र हो, संसारबाट परमेश्वरमा फर्केको मात्र हो । मैले धर्म परिवर्तन गरेको होइन । साभार ः नयाँ अाशा.कम
No comments:
Post a Comment